भवन निर्माणमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८र७९ मा विनियोजित रकमबाट खरेहाको ज्येष्ठ नागरिक भवन निर्माणका लागि २०७८ पुस ७ गते मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग ठेक्का सम्झौता भएको थियो।

सम्झौता अनुसार २०७९ असार २४ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले समयमै काम नगरी सम्पर्कविहीन बनेको पाइएको छ।

निर्माण कार्य अघि नबढेको अवस्थामा पनि कुस्मा नगरपालिकाले दुई पटक गरी २१ लाख ७६ हजार रुपियाँ पेश्की भुक्तानी गरेको, पेश्की फर्छ्यौट नगरी बैँक जमानतको म्याद सकिन दिएको र पहिलो बिलभन्दा बढी रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

यसरी सार्वजनिक खरिद नियमावली विपरीत काम गरी एक करोड १३ लाख ४४ हजार २१६ रुपियाँ ८६ पैसाको सरकारी हानीनोक्सानी भएको आयोगको निष्कर्ष छ।

आयोगका अनुसार ठेक्का सम्झौता अन्त्य गरी कार्यसम्पादन जमानत जफत गर्नुपर्ने र बाँकी कामको लागत असुलउपर गरी मात्र नयाँ ठेक्का गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि जानाजानी त्यसो नगरी गैरकानुनी लाभ लिइएको पाइएको छ। साथै निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नुपर्ने प्रक्रिया पनि अवलम्बन नगरिएको उल्लेख छ।

उक्त प्रकरणमा कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य तथा मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स र उसका प्रोप्राइटर लालबहादुर मल्ललाई प्रतिवादी बनाइएको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सरकारी सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग पुष्टि भएपछि आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

IME Lifesidebar
kumari