ईपीएस भाषा परीक्षा आगामी मंसिरदेखि सुरु हुने
काठमाडौं । ईपीएस भाषा परीक्षा आगामी मंसिर एक गतेबाट हुने भएको छ । उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन गर्न सोमबार तालिका सार्वजनिक गरिएको हो ।
उत्पादनमूलक क्षेत्रमा ७ हजारको परीक्षा शुरु गरिने नेपालस्थित ईपीएस कोरिया शाखाले जनाएको छ । केही समयदेखिको विवादका कारण ईपीएसको रोजगारी गुम्ने भएपछि सरकारले बल प्रयोग गरेर भए पनि कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
रोष्टरमा रहेका युवाले पहिले आफूहरुलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका छन् । हाल रोष्टरमा उत्पादनमूलक क्षेत्रका युवा कम हुँदै गएको र तत्काल परीक्षा नगरे रोष्टर खाली भएर नेपालको कोटा अन्य देशमा जाने सम्भावना रहेको भन्दै परीक्षा गर्न लागिएको हो ।
भाषा परीक्षाको सूचना सोमबार कोरिया र नेपालले एकै पटक सार्वजनिक गरेका छन् । परीक्षामा १ लाख २ हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनमूलक क्षेत्रका ७ हजारलाई प्राथमिकतामा राखेर सूचना जारी गरिएको छ ।
हाल उत्पादनमूलक क्षेत्रको परीक्षा लिइने र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि पछि मिति तय गरिनेछ । कृषि तथा पशुपादन क्षेत्रका परीक्षार्थीको संख्या ३५ हजारको हाराहारीमा रहेको छ ।























