citizens life insurance long ad
stcnepal long ad

आजदेखि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।

विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गर्न लागिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार यहीँ साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिस मार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको छ ।”

विमानस्थल कार्यालयले एक सार्वजनिक सूचना जारी गरी त्रिभुवन अन्तरराष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्नुहुने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ ।

साथै ह्विलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

सामान ‘चेक–इन’ सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गरिदिनु हुनसमेत अनुरोध गरिएको छ ।

“त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मङ्गलबारदेखि लागू हुनेगरी अन्तरराष्ट्रिय टर्मिनल भवन मार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको व्यहोरा सरोकार भएका सबैमा जानकारीका लागि अनुरोध गरिन्छ”, उक्त सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

IME Life
kumari