आज असार १८ गतेदेखि विकास हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँबराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये प्रतिकित्ता १०० रुपियाँमा ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा गएका नेपालीमा असार ५ गते बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असार २२ र ढिलोमा ३२ गते बन्द हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।