sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा देशभरका विद्युतीय व्यवसायी, उद्योगी, संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

मुख्यमन्त्री पाण्डेले आफ्नो सम्बोधनमा व्यवसाय प्रवर्द्धनका क्रममा प्रदेश कानुन बाधक भएमा संशोधन गर्न सरकार तयार  रहेको बताउँदै, गण्डकी प्रदेशलाई लगानीमैत्री बनाउने प्रतिबद्धता जनाए ।

उनले निजी क्षेत्रलाई सहज वातावरण दिनु सरकारको कर्तव्य रहेको बताए । उनले भने ‘सरकार आफैं व्यापार गर्ने होइन, सहजीकरण गर्ने हो’,। उनले विद्युत् उत्पादनमा सह लगानीका लागि समेत व्यवसायीहरूलाई आग्रह गरे।

महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले आयातित र स्वदेशी सामानमा अनिवार्य लेबलिङसम्बन्धी नियमले व्यवसायीलाई मर्कामा पारिरहेको भन्दै तत्कालीन रुपमा नियम स्थगन गर्नुपर्ने माग राखे । साथै, भन्सार महसुल, भ्याट, अन्तःशुल्क लगायत नीति सुधार, सहुलियतपूर्ण कर्जा, कर छुट, स्वदेशी उद्योग प्रवर्द्धन लगायतका विषयमा संघको धारणा प्रस्तुत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि हरि बहादुर कार्कीले दुई खरबभन्दा बढीको लगानी रहेको र ३० हजारभन्दा बढीलाई रोजगारी दिएको विद्युत व्यवसायी क्षेत्रलाई नीति, कर र व्यवस्थापकीय समस्याबाट मुक्त गर्न लबिङ गर्दै आएको जानकारी दिए ।

शारदा ग्रुपका निर्देशक ननियपवन कुमार सारदाले व्यवसायीलाई सहज बनाउने उद्देश्यले तीन तहको सरकार बनाइए पनि अपेक्षाअनुसार कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै, व्यवसायीका समस्यामा मलम लगाउन सक्रिय कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

महासंघका पूर्व अध्यक्ष सुदर्शन प्रसाद पौड्याल र जिल्ला संघ अध्यक्ष केशव ढकालले समेत व्यवसायीहरूका समस्या समाधानका लागि प्रदेश सरकारलाई पहल गर्न अनुरोध गरे ।

कार्यक्रम पोखरा इलेक्ट्रिकल एसोसिएशनको आयोजना तथा प्रिमियर वायर्स, प्राइम भेन्चर्स, भिस्टा इलेक्ट्रिक लगायत २० भन्दा बढी कम्पनीहरूको सहयोगमा सम्पन्न भएको थियो।

महासंघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमबहादुर जी.सी.ले सबैलाई धन्यवाद दिँदै कार्यक्रममा सहभागी बनेका अतिथि, सदस्य तथा सहयोगी संस्थाहरूको योगदानलाई सराहना गरे । कार्यक्रम सञ्चालन महासंघका महासचिव गोपाल अग्रवालले गरेका थिए ।

prabhu bank
nawakantipur long