सदस्य पहिचान विवरण अद्यावधिक गर्न राष्ट्रिय सहकारी बैंकको आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई आगामी वैशाख मसान्तभित्र सदस्य पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
गत मंगलबार सार्वजनिक सूचनामार्फत बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा ७(क), नियमावली २०८१ को नियम ४ र ५ तथा नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट जारी निर्देशनहरूमाथि आधारित रही सदस्य विवरण अद्यावधिक अनिवार्य गरिएको जनाएको छ ।
विशेषगरी लघुवित्त वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन’ र सहकारी संघसंस्थाका लागि सहकारी विभागले जारी गरेको निर्देशन २०७४ ९संशोधित० को दफा ३ अनुसार यो प्रक्रिया आवश्यक भएको बैंकले स्पष्ट पारेको छ ।
राष्ट्रिय सहकारी बैंकले चेतावनी दिँदै भनेको छ कि तोकिएको समयसीमाभित्र सदस्य विवरण अद्यावधिक नगर्ने संघसंस्थामाथि प्रचलित कानुन, नियम तथा निर्देशनअनुसार आवश्यक निर्णयहरू लागू गरिने छन्, जसमा कारोबारमा रोक लगाउनेसम्मका कदम पनि समावेश हुनसक्ने जनाइएको छ ।
यस सन्दर्भमा विवरण अद्यावधिक गर्न र आवश्यक प्रक्रिया पूरा गर्न बैंकले आफ्ना सदस्य संघसंस्थालाई नजिकको शाखा कार्यालय वा प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । बैंकले सदस्य संस्थाहरूलाई यस प्रणालीका विषयमा सम्पूर्ण आवश्यक परामर्श तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।
राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रमा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न सदस्य विवरण अद्यावधिकलाई महत्वपूर्ण आधार मानेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बताए । ‘त्यसैले सबै सदस्य सहकारीहरूलाई निर्धारित समयभित्र कार्य पूरा गर्न विशेष अनुरोध गरिएको छ,’ उनल भने ।