sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने

निजी क्षेत्र तथा विकास साझेदारसागको सहकार्यमा सरकारले लगानी सम्मेलन गर्न लागेको हो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा बसेको निर्देशक समितिको दोस्रो बैठकले आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने जनाएको छ ।

निर्देशक समितिको बैठकले शुक्रबार लगानी सम्मेलनको मिति तय गरेको हो । यसअघि मंसिर १० मा बसेको निर्देशक समितिको पहिलो बैठकले वैशाख ९ र १० मा सम्मेलन गर्ने गरी तयारी सुरु गरिएको जनाएको थियो ।

कात्तिक २३ मा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ९ र १० मा तेस्रो लगानी सम्मेलन–२०८१ आयोजना गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नै लगानी सम्मेलनको मिति सारिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जनाए ।

‘मन्त्रिपरिषद् बैठकले नै वैशाख १६ र १७ मा लगानी सम्मेलन गर्ने मिति संशोधन गरेको थियो, सोहीअनुसार सम्मेलनको मिति तय गरिएको हो,’ उनले भने । निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यमा सरकारले लगानी सम्मेलन गर्न लागेको हो ।

बैठकमा अर्थमन्त्री महतले तेस्रो लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिए । लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उनले जनाए ।

सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई अर्थमन्त्री महतले आह्वानसमेत गरेका छन् । बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

लगानी सम्मेलन आयोजना गर्न सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ ।

नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ ।

यी सबै समिति र कार्यदलले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् । निर्देशक समितिको दोस्रो बैठकले अवधारणा, कार्यक्रमको ढाँचा, लोगो, नारालगायत स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले जनाए ।

पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो । दोस्रो लगानी सम्मेलन सन् २०१९ मा आयोजना गरिएको थियो । कोरोना महामारी, विश्व अर्थतन्त्रको अवस्थालगायत विविध कारणले लगानी सम्मेलन गर्न ढिलाइ भएको समेत उनले सुनाए ।

‘लगानीयोग्य वातावरण सुदृढ गर्ने, राम्रो म्यासेज पनि दिने, प्रचुर सम्भावना भएका क्षेत्रमा लगानीकर्तालाई कसरी भित्र्याउने सहित कार्यक्रमको निमन्त्रणा पठाउनुपर्ने काम पनि तदारुकताका साथ गर्न निर्देशक समितिले निर्देशन दिएको छ,’ उनले भने ।

साढे चार खर्बको आयोजना निर्माण चरणमा, साढे २ खर्बको निर्माण उन्मुख रहेको उनले सुनाए । ‘ठूला लगानीका लागि लगानी बोर्ड नै हो, त्यसैले धेरै प्रोजेक्ट पाइप लाइनमा छ, केही मूल्यांकनका क्रममा छन्, केही वार्ता चरणमा छन्, यी सबै विगतकै लगानी सम्मेलनको नतिजा हो,’ उनले भने ।

prabhu bank
nawakantipur long