stcnepal long ad
global ime bank long

एउटै सुत्र स् पैसाको सदुपयोग गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

डा चिरञ्जीबि नेपाल । वित्तीय साक्षरता भनेको पैसा कमाउने र सदुपयोग गर्ने सम्बन्धी नलेज हो । कुन तरिकाले पैसालाई व्यवस्थापन गरेर त्यो पैसालाई सही ठाउँमा कसरी उपयोग गर्ने भन्ने जानकारी हुनु नै वित्तीय साक्षरता हो । सामान्य वित्तीय साक्षरता भएको व्यक्तिले पैसाको सही सदुपयोग गरेर सफल व्यवसायी बन्न सक्छ । पैसाको सदुपयोग गर्न जान्यो भने उद्यमी बन्न सजिलो छ । मात्र हामीले अवसरहरुको उपयोग गर्नुपर्छ । सरकारले उद्यमी बन्नेहरुका लागि विभिन्न सहुलियतहरु दिएको छ । ती सहुलियतहरुको प्रयोग गर्नुपर्छ । तर, हामी सहुलियत लिन जान लाज मान्छौँ । सहुलियतका लागि आवश्यक कागजात र प्रक्रिया पुरा गर्न झन्झट मान्छौँ ।

रोजगारी भएन भन्दै नेपाली युवाहरु विदेश गइरहेका छन् । यता, विदेशीहरु नेपाल आएर काम गरिरहेका छन् । यस्तो किन भइरहेको छ त भन्दा हामीसँग पैसाको सही सदुपयोग गर्नका लागि पर्याप्त ज्ञान छैन । थुप्रै नेपाली युवाहरु विदेश गएर लाखौँ कमाई गरेर नेपाल पठाएका छन् । तर, यसरी कमाएर ल्याएको पैसा खाएर सकिन्छ । किनकि, त्यसरी ल्याएको पैसा कहाँ लगानी गर्ने भन्ने कुराको योजना र आईडिया छैन । विदेशबाट आउँदा टन्न सामान लिएर आउने चलन छ । जसकारण आयात बढीरहेको छ । व्यापार घाटा बढीरहेको छ । बर्षौँ दुःख गरेर कमाएको पैसा विदेशमै सामान किनेर खर्च गर्छौँ । विदेश गएर फर्किँदा नेपालमा कतै लगानी गर्ने, त्यहाँ सिकेको सीपको प्रयोग गर्ने योजना नभएका कारण जति नै रेमिट्यान्स भित्रिए तापनि समृद्धि र उद्यमशीलताको विकास हुन सकेको छैन ।

नेपाली उत्पादन निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने समयमा विदेशबाट आयात गर्ने प्रवृत्ति छ । भारतबाट ट्रक भरी भरी सामान नेपाल भित्र्याइन्छ । नेपालबाट खाली ट्रक जान्छ । किनकि, हाम्रो देशमा उत्पादन नै केही छैन । प्रकृतिले यति राम्रो माटो, हावापानी दिएको छ । पर्यटन, कृषि, जडिबुटी हरेक क्षेत्रमा सम्भावनै सम्भावना छन् । हरेक क्षेत्रमा भरिपूर्ण हुँदा हुँदै पनि सदुपयोग गर्न सकिरहेका छैनौँ । पैसा कसरी कमाउने भनेर सोच्यौँ तर कसरी त्यसको सदुपयोग गर्ने, लगानी कसरी गर्ने भन्ने विषयमा न त अविभावकले सिकाए, न त छोराछोरीले सिके ।

अमेरिका, अष्ट्रेलिया जस्ता मुलुकहरुमा सानै उमेरदेखि पैसाको सदुपयोग गर्न सिकाइन्छ । घरपरिवारमा छलफल हुन्छ । विहानै उठेर बालबालिकासमेतको सहभागीतामा शेयर बजारको अवस्था, सामानहरुको बजार भाउ लगायतका आर्थिक विषयमा छलफल हुन्छ । यसरी छलफल हुँदा बच्चाहरुलाई पनि आर्थिक विषयमा चासो बढ्छ र बुझ्न खोज्छ । तर, नेपालमा यस्ता विषयहरुको छलफलमा सानै छस्, बुझ्दैनस् भनेर बालबालिकालाई सहभागी गराईँदैन । विकसित मुलुकमा सानै उमेरदेखि आफ्नै पैसाले आफ्नो सामान खरिद गर्ने वा आफूलाई मन लागेको खानेकुरा किन्ने बानी बसाइन्छ । सानैदेखि पैसासम्बन्धी ज्ञान दिइन्छ । तर, नेपालमा त्यो अवस्था छैन ।

पैसाको बारेमा बच्चा बेलादेखि नै ज्ञान दिनुपर्छ । बच्चाले पैसा माग्दा कति माग्छ भनेर गाली गरेर मात्र हुँदैन । बरु उसलाई घर खर्चको बारेमा छलफल हुँदा सहभागी गराउने, सामानहरुको मूल्य थाहा दिने गर्नुपर्छ । पैसाको सदुपयोग गर्न सानै उमेरदेखि सिकाउनुपर्छ । पैसा कमाएर मात्र हुँदैन, त्यसको सही ठाउँमा परिचालन गर्नुपर्छ भन्ने कुरा हरेक समूह, वर्ग, पेशा एवम् समुदायका व्यक्तिलाई थाहा हुनुपर्छ । यो नै वित्तीय साक्षरता हो ।

पैसा कमाएर हैन त्यसको सही सदुपयोग गरेर मात्रै सफल भइन्छ । समृद्धिका लागि पैसाको सही सदुपयोग गर्न जान्नु अत्यावश्यक छ । नेपाल गरीब भएकै पैसाको प्रयोग गर्न नजानेर हो । त्यसैले, नेपालमा वित्तीय साक्षरता अत्यन्त जरुरी छ । विश्वव्यापी रुपमै हेर्दा पनि वित्तीय रुपमा साक्षर जनता रहेको मुलुक समृद्ध रहेको पाइन्छ ।

जापानको एक किस्सा
विकसित मुलुकबाट नेपाल घुम्न आउने ५० प्रतिशत पर्यटकहरु शेयर बजारबाट भएको फाइदाबाट आएका हुन्छन् । केही समयअघि म जापान जाँदा त्यहाँ शेयर बजारमा लगानी गर्नुपर्छ, भविष्य सुरक्षित गर्नुपर्छ, भविष्यका लागि बचत गर्नुपर्छ जस्ता चेतनामूलक कुराहरु लेखेको प्लेकार्ड लिएर ससाना बालबालिकाहरु सडकमा र्याली गरिरहेका थिए । त्यसबारेमा बुझ्न खोज्दा, सँगैको जापानिज साथीले भने, “आजका बालबालिका नै भोलीका लगानीकर्ता हुन्, त्यसैले, पैसाको सुदपयोगबारे उनीहरुले अहिलेदेखि नै जान्नुपर्छ ।” भोलीका दिनमा पनि देशमा समृद्धि कायम रहोस् भन्नाका लागि जापानीज सरकारले नै यस्ता खाले कार्यक्रममा बालबालिकालाई सहभागी गराउने गरेको रहेछ ।

नेपालमा गणित, स्वास्थ्य, विज्ञान, नेपाली, अंग्रेजी सबै विषय पढाइन्छ । तर, पैसाको सदुपयोग कसरी गर्ने भन्ने विषयमा पढाइँदैन । बच्चाले पैसाको कुरा गर्न थाल्यो भने बिग्रियो भन्ने सोच्छौँ । सिक्ने बेलामा पैसा कसरी कमाउने, कहाँ लगानी गर्ने भनेर सिकाउँदैनौँ । अनि, कमाउने बेला भएपछि आइडीया हुँदैन र विदेश पठाउँछौँ । लगानी गर्न जान्ने मान्छेले नेपालमा सम्भावना देख्छ, नजान्नेले देख्दैन र विदेश जान्छ । वित्तीय साक्षरताकै अभावका कारण हामीले स्वदेशभित्रमा अवसरहरु गुमाइरहेका छौँ ।

खाडी मुलुकमा खानीमा काम गर्ने, विकसित मुलुकमा भाँडा माझ्ने, बालबच्चा स्याहार्ने जस्ता काम गर्ने, वा कृषि क्षेत्रमा काम गर्ने सबै नेपाली छन् । विदेश गएर मजदुरी गर्न, घरायशी काम गर्न, खानीमा काम गर्न तयार हुने हामी स्वदेशमा यस्तो काम गर्न हिच्किचाउँछौँ । शिक्षाको कमीका कारण नेपालमा यस्तो समस्या भएको हो । (गभर्नर डा नेपालद्धारा पाल्पामा आयोजित वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रममा व्यक्त विचारमा आधारित)

IME Lifesidebar
kumari