सेयर बजार निरन्तर उकालो यात्रामा
काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम हिजो पुस २७ गते मंगलबार पनि निरन्तर जारी रहयो। हिजो सेयर बजार ४९.१९ अंकले उकालो लागेको थियो। योसँगै नेप्से परिसूचक २८३४.१३ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ को विन्दुमा पुगेको छ। कारोबार रकम भने अस्तीको तुलनामा घटेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको थियो।
हिजोको सेयर बजार बढाइले बजार धेरै मजबुत बनेको देखिएको छ। इन्ट्राडे करेक्सन हुँदै बजारले गति लिएको देखिन्छ।
अहिले बजार बढ्नुमा सेयरको मूल्य धेरै सस्तो हुनु, कोभिड प्रभाव बढ्दा अन्य क्षेत्रका लगानीकर्ताहरु सेयर बजारमा आकर्षित हुनु, बैंकहरुमा तरलता बढ्दै जानु, सीडी रेसियो पनि ९० प्रतिशतमुनि झर्नु र माघमा ब्याजदर नबढ्ने सम्भावनाले बजार बढेको विश्लेषण गरिदै आएको छ ।
त्रैमासिक ब्याज तिर्ने बेला पनि सकिएकोले लगानीकर्ताहरु पुनः सेयर बजारमा सक्रिय भएको अनुमान छ। खासगरी अहिले सेक्टरवाइज करेक्सन हुँदै बजार अगाडि बढिरहेको छ। यसले लगानी रोलिङ भइरहेको प्रस्ट हुन्छ।
सबैतिर सकारात्मक समाचारले बजार बढेको देखिन्छ। माघ लागेपछि ऋण पाउने आशाले र लगानीकर्ताको मनोबल सकारात्मक हुँदा खरिदचाप बढेको हुन सक्छ। बजार सधैँ बढ्दैन, घट्छ पनि। त्यसैले होसियारीपूर्वक लगानी गर्नुपर्छ।
हिजो पनि इन्ट्राडे करेक्सन हुँदै बजार माथि गएकोले बजार मजबुत बन्दै गएको मान्न सकिन्छ । लाभांश घोषणा गर्न बाँकी राम्रा कम्पनीहरुमा लगानी गर्दा उचित हुने विश्लेषकहरूको तर्क छ।
हिजो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको थियो भने एउटामा मात्रै रातो पोतिएको थियो। सो दिन वित्त समूह सर्वाधिक ६.१५ प्रतिशतले उकालो लागेको थियो।
लघुवित्त समूह ३.९० प्रतिशतले बढेको थियो। हिजो बैंकिङ समूहमा ०.२० प्रतिशत, विकास बैंक समूहमा ३.४४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३९ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशत, लगानी समूहमा २.१९ प्रतिशत, जीवन बीमा समूहमा ३.८९ प्रतिशत, लघुवित्त समूहमा ३.९० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५७ प्रतिशत, निर्जीबन बीमा समूहमा २.६५ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत र व्यापार समूहमा १.३२ प्रतिशतको बढोत्तरी भएको थियो। यसैगरि हिजो उत्पादन तथा प्रशोधन समूहमा ०।४३ प्रतिशतको गिरावट आएको थियो।
धेरै कारोबार गर्ने कम्पनीहरु:
हिजो नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९८ रुपैयाँमा किनबेच भएका थिए।
सो दिन अपी पावरको सर्वाधिक १६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । दोस्रो बढी कारोबार गोर्खाज फाइनान्सको १६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
हिजो नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ८२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ४२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ११ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ७१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ४० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १० करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:
हिजो ७ वटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको थियो। सो दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको सेयर भाउमा १० प्रतिशत तथा सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर भाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको थियो। हिजो मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको थियो।
हिजो माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाएका थिए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको थियो। निरज रञ्जितबाट























