शेयर बजार १८ अङ्कले बढ्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ ।
आज होटल, विकास बैंक, हाइड्रो र निर्माण बाहेक सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अङ्कले, माइक्रोफाइनान्सको ५८, व्यापारको २३, अन्यको २२ र बैंकिङ समूहको शेयर १३ अङ्कले बढेको छ ।
आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज बेस्ट फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एभरेस्ट बैंक लिमिटेडको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।