९२ अंकभन्दा बढीले वृद्धि भएपछि नेप्से २६०० को तहमा
काठमाडौं । सेयर बजारले करेक्सनपछि फेरि आफ्नो अगाडि बढ्ने यात्रा सुरु गरेको छ । बजारले आफ्नो करेक्सन चक्र पूरा गरेपछि फेरि वृद्धितर्फ अघि बढेको हो ।
यअसघि २७ सय विन्दुभन्दा माथि लागेपछि प्राविधिक औजारहरुलाई हेर्दै ट्रेडरहरुले सेयर बेचेर नाफा सुरक्षित गरेका थिए । त्यही क्रममा कोरोना संक्रमण र लक डाउनका खबरहरु सार्वजनिक भए । यसले पनि बजारलाई थप तल झार्ने काम गर्यो । सर्वसाधारण लगानीकर्ता अलि बढी प्यानिक पनि भए ।
तर बजारले आफ्नो करेक्सनको रेखाहरु पूरा गरेपछि फेरि लयमा फर्किन थालेको विश्लेषकहरुको भनाई रहेको छ । अब नेप्से थप नयाँ उचाईमा पुग्ने उनीहरुको भनाई रहेको छ ।
यस चरणमा राम्रै करेक्सन भएकाले अब विस्तारै अर्को नयाँ अल टाइम हाइ रेकर्ड बन्न सक्ने पनि उनीहरुको अनुमान छ । तर एकैपटक नभई बीचमा केही करेक्सनहरुलाई पार गर्दै अघि बढ्न सक्ने विश्लेषकहरु बताउँछन् । तथापि, बजारको रेखा र अंकहरुका बारेमा अुनमान मात्र सकिन्छ, ठोकुवा गर्न मिल्दैन ।
बजार बढ्दा होस् या घट्दा, आम लगानीकर्तामा धैर्यता र अनुशासन आवश्यक हुन्छ । आत्तिएर निर्णय लिंदा फाइदाजनक नहुन पनि सक्छ । कोरोनाकै कारण लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था छैन ।
अब बैंकिङ तरलता थप बढ्नेछ । ब्याजदर सस्तो छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण औसतमा निकै आकर्षक आएको छ । बैंकहरुको वितरणयोग्य मुनाफाहरु वृद्धि भइरहेका छन् ।
माइक्रोफाइनान्सहरुको पनि औसतमा प्रतिसेयर आम्दानी बढेको छ । अन्य क्षेत्रका कम्पनीहरुको पनि रिपोर्ट आउनेक्रम जारी छ । यी समग्र परिदृश्यहरुमा सेयर बजारको आगामी दिनहरु सुनौलो रहने विश्लेषणहरु भइरहेका छन् । तर यसको अर्थ, बजार सधैं बढ्छ भन्ने होइन । तलमाथि गर्दै माथिल्लो विन्दुतर्फ अग्रसर हुने हो । यसअघि बजार घट्दा पनि दीर्घकालीन लगानीकर्ताहरु डराउनुपर्ने अवस्था थिएन ।
अल्पकालीन लगानीकर्ताहरु भने सधैं नाफा गरिहाल्ने प्रवृत्तिका हुन्छन् । यसर्थ, आफू कस्तो प्रकारको लगानीकर्ता हो भन्नेमा ख्याल गर्नुपर्ने हुन्छ ।
लगानीकर्ता सबल वित्तीय सूचक भएका कम्पनीहरु खोज्नुपर्छ । नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९।०७ विन्दुमा आइपुगेको छ । बजार ३.६९% ले बढेको हो । ११ कम्पनीको भाउ ९५ र त्यसभन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।
कारोबार रकममा २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी रहेका छन् । ५ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोडभन्दा बढी कित्ता कारोबार भएको छ । सूचीकृत सबै समूहको सूचकमा हरियाली छाएको छ ।





















