stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एक अर्ब ७७ करोडको सेयर कारोबार, बजारमा चहलपहल झन् तीब्र

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । १ फागुन २०७६, बिहीबार । काठमाडौं । सेयर कारोबारले नयाँ उचाई लिदैं गएको छ । दिनहुँ खरिद बिक्री रकम बढ्ने क्रममा देखिएको छ । बुधबार १ अर्ब ५० करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार भएकामा बिहीबार खरिद बिक्री रकम अझै वृद्धि भएको छ । सूचक सामान्य रहँदा पनि खरिदबिक्रीमा तेजी आइरहेकाले दीर्घकालीन लगानीकर्ताको बजारमा प्रवेश भएको अनुमान गरिएको छ ।
लगातार कारोबार वृद्धिले बजारको बुल रन संकेत गर्ने विश्लेषकहरु बताउँछन् । ठूलो मात्रामा खरिदबिक्री भएकाले अहिले नेप्से सूचक सुस्त भए पनि यसले भविष्यमा बजार वृद्धिको स्पष्ट संकेत गर्दछ । यसअघि दैनिक २ अर्बभन्दा बढीको कारोबार भएकामा बीचमा केही दिन खरिदबिक्री अलि सुस्त भएर औसतमा १ अर्ब हाराहारीमा आएको थियो । त्यसयता पुनः वृद्धि हुँदै अहिले फेरि डेढ अर्ब माथि पुगेको छ ।
सेयर बजार जहिले पनि बाँङोटिंगो रेखामा हिँड्छ । लगातार बढ्ने वा घट्ने मात्र अपेक्षा गर्न सकिन्न् । तर समग्र ट्रेन्ड कता जाँदैछ भन्ने सबैभन्दा महत्वपूर्ण हुन्छ । हरेक हिसाबले विश्लेषण गर्दा बजारले माथिल्लो यात्रा तय गर्ने सुरसार गरिरहेको विश्लेषकहरु बताउँछन् । तर यसरी माथि जाँदा घट्दै बढ्दै अघि बढ्ने गर्छ । केही बढेर फेरि घट्ने अनि पुनः माथितिर लाग्ने बजारको प्रवृत्ति हुन सक्छ ।

यसतर्फ आम लगानीकर्ताले सुक्ष्म अध्ययन गर्न आवश्यक छ । आफैंले अध्ययन गरेर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । यतिबेला नयाँ तथा पुराना दुवैथरीका लगानीकर्ता उत्साहित छन् । उनीहरुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले सञ्चय गर्ने हिसाबले समेत सेयर खरिद गरिरहेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् ।
खरिद बिक्रीमा निरन्तर तेजी आउन थाल्नु नै बुल रनको संकेत भएको अनुभवी लगानीकर्ताहरु बताउँछन् । सेयर बजार सुधारका कार्यक्रम अघि बढिरहेका छन् । नयाँ नियमहरु ल्याएर बजारको दायरा फराकिलो बनाउने काम भइरहेको छ । नागरिक लगानी कोषले सहायक कम्पनी मार्फत स्टक डिलरको काम थाल्दैछ ।
अन्य सुधारका थुप्रै कामहरु अघि बढिरहेका छन् । सूचीकृत कम्पनीहरुको नाफा पनि बढ्दो छ । बैंक ब्याजदर घट्दो क्रममा छ । यी तमाम पक्षहरुले सेयर बजारको आगामी दिनहरु सुखद् हुने प्रक्षेपण गर्न सकिन्छ । आम लगानीकर्ताले कम्पनीहरुको तथ्यांक अध्ययन गर्न आवश्यक हुन्छ ।
नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ, व्यवसायको आकार, कम्पनीको भावी योजना, सञ्चालक तथा व्यवस्थापन पक्ष लगायतमा पनि विचार गरेर अघि बढ्न जरुरी छ । नेप्से सूचक साताको अन्तिम दिन बिहीबार १.३९ अंकले घटेर १३४४.५९ विन्दुमा अडिएको छ । १७२ कम्पनीको १ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कुल १२ समूहको कारोबार भएकामा ७ समूहका सूचक बढेका छन् भने बाँकी ५ समूह तल झरेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै १०२.७४ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूह भने ८.९४ अंकले घटेको छ । खरिद बिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ । यसको १२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
यता, शिवम् सिमेन्ट्सको दोस्रो धेरै ९ करोड ७५ लाख रुपैयाँ र तेस्रोमा एसियन लाइफ इन्सुरेन्सको ६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको खरिद बिक्री भएको छ । यस दिन हिमालयन डिष्टिलरीको १०५ ले भाउ बढेपछि सर्किट लागेको छ । यता, नेपाल हाइड्रो डेभलपर्सको सबैभन्दा धेरै ५.१०५ का दरले भाउ ओरालो लागेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari