stcnepal long ad
global ime bank long

नेपाल धितोपत्र बोर्डले आजदेखि घटेको ब्रोकर कमिसनदर लागु हुँदै

अझै घटाउन पहल गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजदेखि घटेको ब्रोकर कमिसनदर लागु हुँदैछ । लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए ।

अब न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०।३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ ।  यसअघि, न्यूनतम ०.२७ र अधिकतम ०.४० प्रतिशतसम्म  कमिसन लिने गरिएको थियो । अब घटेको बजारमा ब्रोकरहरूको आम्दानीमा कमी आउने निश्चित छ ।

ब्रोकर कमिसन घटाउने निर्णय समय सान्दर्भिक नभएको भन्दै कतिपय लगानीकर्ताले असन्तुष्टि समेत व्यक्त गरेका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ब्रोकर कमिसन घटाउन लगानीकर्ताले वर्षौँअघिदेखि माग गर्दै आएको बताइन् ।

“हामीले ब्रोकर कमिसन घटाउनुपर्छ भनेर पहिलेदेखि नै माग गर्दै आएका थियौँ । घट्नु लगानीकर्ताका लागि सुखद कुरा नै हो,” उनले बाह्रखरीसित भनिन्, “तर, बजार विकासका लागि यो मात्र पर्याप्त हैन । बजारलाई जरैबाट मजबुत बनाउनुपर्छ ।”

नवप्रवेशी लगानीकर्ता बजारबाट बाहिरिएको उनले उल्लेख गरिन् । ती लगानीकर्ता फर्काउन सरकारले उचित नीतिगत सुधार गर्नुपर्नेमा उनले जोड दिइन् । बजार विकासका निम्ति सरकारले बजेटमा नै प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।

कतिपयले बजार विकासका लागि नेपाल राष्ट्र बैंकले उचित कदम चाल्नुपर्ने बताउँदै आएका छन् । ब्रोकर कमिसन घटाएर मात्र बजार माथि उठ्न नसक्ने सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

“ब्रोकर कमिसन घट्नु लगानीकर्ताका लागि खुसीको कुरा हो । तर, यो मात्रै अहिलेको समस्याको पर्याप्तता हैन,” कार्यवाहक अध्यक्ष फुलेलले भने, “तर, नेपाल राष्ट्र बैंकले जसरी लोनको सीमा तोकेको छ, यसले बजारलाई प्रभाव पारेको छ ।”

विश्वको कमिसनसँग तुलना गर्दा अहिले पनि नेपालको महँगो भएको फुलेल बताउँछन् । ब्रोकर कमिसन अझै घटाउन पहल गर्ने उनले सुनाए ।

“ब्रोकर कमिसन नेपालको कन्टेन्टमा महँगो छ । बोर्डलाई हामी फेरि पनि कमिसन घटाउन अनुरोध गर्न जान्छौँ,” उनले भने । राष्ट्र बैंकको नीतिले बजारलाई ‘हिट’ गरेकाले त्यसलाई ‘करेक्सन’ गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

५० हजार रुपैयाँसम्मको कारोबारमा यसअघि ०।४० प्रतिशत कमिसन लाग्दै आएको थियो । अब भने ०.३६ प्रतिशत लाग्नेछ । ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३३ प्रतिशत लाग्नेछ ।

यस्तै, पाँच लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०।३४ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३१ प्रतिशत लाग्नेछ ।

२० लाखदेखि एक करोडसम्मको कारोबारमा अब ०.२७ प्रतिशत कमिसन लाग्नेछ । यही कारोबारमा यसअघि ०.३० प्रतिशत लाग्दै आएको थियो ।

यसअघि, एक करोडभन्दा माथि जतिसुकै कारोबारमा ०।२७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०।२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ ।

ब्रोकरको मात्र कमिसन घटाइएको भनेर पनि कतिपय असन्तुष्ट देखिएका छन् । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिने कमिसन पनि घटाउनुपर्नेमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटा जोड दिन्छन् । ब्रोकरको आम्दानीमा प्रहार गरिएको उनको टिप्पणी छ ।

“धितोपत्र बोर्डले त राम्रो हुन्छ भनेर नै यो निर्णय लिएको होला, तर अहिले कारोबार नै नभएको अवस्थमा यस्तो निर्णय गर्नु हुँदैन थियो,” उनले भने, “सबै स्टेक होल्डरको घटाउने भनेर बजारमा प्रचार गर्छ । तर, हाम्रो मात्र कमिसन घटाएको छ । यो न्यायोचित भएन ।”

कमिसनदर हेरफेर हुँदा नयाँ–नयाँ प्रोडक्ट बजारमा ल्याउने बोर्डले ०५० सालदेखि भनेको उनले उल्लेख गरे । तर, अहिलेसम्म केही नयाँ प्रोडक्ट थप्न नसकेको सापकोटाले बताए ।

खर्च बढिरहेको अवस्थामा ब्रोकरलाई टिकाउने योजना ल्याउनुपर्ने उनको भनाइ छ । घटेको बजारमा कमिसन घटाउँदा झनै समस्या पर्ने उनले टिप्पणी गरे ।

नयाँ ब्रोकरको नेतृत्व गरिरहेका सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष तथा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका महासचिव कृष्ण गिरीले बोर्डको निर्णय बजारको विकास, लगानीकर्ताको आत्मबल बढाउन र उनीहरूको हितमा भएकाले अब कारोबार रकम बढ्ने आशा व्यक्त गरे ।

“नियामक निकायले ब्रोकरहरूको स्थायित्वका लागि पनि सोच्नुपर्छ,” उनले भने, “केही संशोधन गरेर मार्जिङ लेन्डिङ र पोर्टफोलियो मेनेजमेन्ट सेवा थप गरिदिएमा बजारको विकासमा सहयोग पुग्छ ।”

बजार विकासका निम्ति भन्दै केही समयअघि अर्थमन्त्री वर्षमान पुनले सुझाव मागेका थिए । तर, अहिलेसम्म बजारको विकासका लागि केही कदम चालेका छैनन् ।

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउँदै छ । यसले पुँजीबजारलाई केही राहत दिने लगानीकर्ताको विश्वास छ ।

 

IME Lifesidebar
kumari