न्यूयोर्क स्टक एक्सचेन्जले चौबीसै घण्टा सेयर कारोबार खुला गर्न सुझाव अध्ययन गर्दै
न्यूयोर्क स्टक एक्सचेन्जले चौबीसै घण्टा सेयर कारोबार खुला गर्नुका फाइदाहरुका बारेमा बजार सहभागीहरुको राय अध्ययन गरिरहेको छ । यता, अमेरिकी नियामकहरुले चौबीसै घण्टा सातै दिन सेयर कारोबार हुने स्टक एक्सचेन्ज सञ्चालनका लागि पहिलो पटक परेको आवेदनमा पनि जाँच गरिहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
न्यूयोर्क स्टक एक्सचेन्जको व्यवस्थापनको सट्टा यसको डाटा एनालिटिक्स टोलीद्वारा गरिएको सर्वेक्षणले अमेरिकी समयअनुसार राती ८ बजेदेखि बिहान ४ बजेबीचमा एप्पल, एनभिडिया जस्ता सेयरहरुको कारोबार गर्नका लागि चासो बढ्दोक्रममा रहेको देखाएको छ ।
चौबीसै घण्टा सेयर कारोबारको विषय हालैका वर्षहरुमा जल्दोबल्दो रुपमा अघि आएको छ । क्रिप्टोकरेन्सीको चौबीसै घण्टा कारोबार र कोभिड महामारीपछि खुद्रा लगानीकर्ताहरु गतिविधिमा भएको वृद्धिले यसलाई प्रेरित गरेको हो ।
अमेरिकी ट्रेजरी, प्रमुख मुद्राहरु र प्रमुख स्टक इन्डेक्स फ्युचर्सलगायतका अन्य ठूला बजारहरु सोमबारदेखि शुक्रबारसम्म चौबीसै घण्टा कारोबार गर्न सकिन्छ । यसअर्थमा, विश्वभर स्टक एक्सचेन्जहरु भने पछि परिरहेको देखिन्छ ।
अमेरिकामा धेरै खुद्रा ब्रोकरहरुले अमेरिकी स्टकहरुमा साताको कारोबार दिनमा चौबसै घण्टा पहुँच दिन थालेका छन् । जहाँ सेयरहरु प्रायः एसियाली खुद्रा लगानीकर्ताहरुसँग उनीहरुको दिनको समयमा कारोबार गरिन्छ ।
यद्दपि, चौबीसै घण्टा स्टक एक्सचेन्ज सञ्चालन भने अलि फरक विषय हो । स्टक एक्सचेन्जमा भारी नियामकीय निरीक्षण हुने गर्दछ ।
एक्सचेन्जहरु अमेरिकी सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी)’ द्वारा प्रत्यक्षरुपमा पर्यवेक्षण गरिन्छ । एक्सचेन्जहरुको स्थिरता र सुरक्षाको पनि एसइसीले परीक्षण गरिरहन्छ ।
साथै एक्सचेन्जमा कुनै पनि नियमहरु परिवर्तन गर्न नियामकको स्वीकृति चाहिन्छ ।एक्सचेन्जहरुमा हुने कारोबारहरु ट्रेडिङ मूल्यहरुको आधिकारिक रेकर्डको हिस्सा बन्दछन् ।
अर्थात, रातीको समयमा हुने कारोबार गतिविधिले बजारको नियामित कारोबारको लागि प्रारम्भिक आधार तय गर्ने सम्भावना बढी हुन्छ । न्यूयोर्क स्टक एक्सचेन्जको सर्वेक्षणले उत्तरदाताहरुलाई चौबीसै घण्टा कारोबार सप्ताहन्तमा वा अन्य पाँच दिन पनि हुनुपर्छ भन्ने प्रश्न गरेको थियो ।
साथै, लगानीकर्ताहरुलाई मूल्य उतारचढावबाट कसरी सुरक्षित राख्ने र रातीको कारोबार सत्रमा कर्मचारी कसरी राख्ने भन्ने पनि सोधेको थियो ।
अमेरिकी हेज फन्ड व्यवस्थापक स्टीभ कोहेनको ‘पोइन्ट ७२ भेन्चर्स फन्ड’ द्वारा समर्थित स्टार्ट–अप ‘२४ एक्सचेन्ज’ ले पहिलो चौबीसै घण्टा कारोबार हुने एक्सचेन्ज सञ्चालनका लागि नियामकसँग स्वीकृति मागेपछि न्यूयोर्क स्टक एक्सचेन्जको सर्वेक्षण आएको हो ।
‘२४ एक्सचेन्ज’ ले नियामकबाट अनुमतिका लागि दोस्रो पटक प्रयास गरेको हो । यसले गत वर्ष सञ्चालन तथा प्राविधिक कारणहरु देखाउँदै आवेदन फिर्ता लिएको थियो ।