मैलुङखोला जलविद्युतको सेयर कारोबार रोक्का
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जले मैलुङखोलाको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।
बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयर धनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि ११ः १७ बजे मात्रै जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ ।
नेप्सेले कम्पनीलाई समयमै जानकारी दिन नसक्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको छ ।