मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बिक्री खुला
दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
काठमाडौं । आज मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
यसर्थ, बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कस्तो छ रेटिङ ?
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७९ माघ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० माघ २ गतेसम्म बाहल रहनेछ ।