पाकिस्तानमा सुनको मूल्य एकैदिन तोलामा ११ हजार ५०० रुपैयाँले बढ्यो
पाकिस्तानमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। प्रतितोला सुनको मूल्य ११ हजार ५०० पाकिस्तानी रुपैयाँले बढेर ३ लाख ९० हजार १३६ रुपैयाँ पुगेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य ९ हजार ८५९ रुपैयाँले बढेर ३ लाख ३४ हजार ४७८ रुपैयाँ कायम भएको छ।
अल पाकिस्तान सर्राफा जेम्स एन्ड ज्वेलर्स एसोसिएसनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ११५ डलरले बढेर ३ हजार ६७६ डलर पुगेको छ।
बीबीसी उर्दूका अनुसार पाकिस्तानमा स्थानीय बजारमा सुनको मूल्य मुख्यतः अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा निर्धारण हुन्छ। यसमा प्रतिऔँस करिब २० डलर अतिरिक्त मूल्यसमेत जोडिन्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने उतारचढावको प्रभाव पाकिस्तानी बजारमा पनि देखिने गरेको छ।
सुनसँगै पाकिस्तानमा चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला २७७ पाकिस्तानी रुपैयाँले बढेर ४ हजार ९०६ रुपैयाँ पुगेको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य २३८ रुपैयाँले बढेर ४ हजार २०६ रुपैयाँ कायम भएको छ।




























