चीनका ४ ठूला सरकारी बैंकहरुले ७१.६० अर्ब डलर पुँजी वृद्धि गर्ने

चीनमा ४ ठूला सरकारी स्वामित्वका बैंकहरुले आइतबार संयुक्तरुपमा ५२० अर्ब युआन (७१.६० अर्ब डलर) पुँजी जुटाउने योजना बनाएका छन् ।
बेइजिङले अर्थतन्त्रलाई सहयोग गर्ने वाचा गरेपछि चीनका ठूला बैंकहरुले अर्थ मन्त्रालय लगायत लगानीकर्ताहरुबाट प्राइभेट प्लेसमेन्टमार्फत पुँजी जुटाउने योजना बनाएको रोयटर्सले लेखेको छ ।
बैंकहरुको टिअर वान क्यापिटल बढाउने उद्देश्यले उक्त पुँजी संकलन गर्न लागिएको हो । मार्च महिनाको सुरुमा चिनियाँ नीति निर्माताहरुले प्रमुख सरकारी बैंकहरुको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउने क्षमता बढाउन ५०० अर्ब युआनको पुँजी थप गर्ने वाचा गरेपछि बैंकहरुले पुँजी वृद्धिको तयारी गरेका हुन् ।
बैंक अफ चाइनाले १६५ अर्ब युआन पुँजी जुटाउने लक्ष्य राखेको बताएको छ भने चाइना कन्स्ट्रक्सन बैंकले प्राइभेट प्लेसमेन्ट मार्फत १०५ अर्ब युआनसम्म संकलन गर्ने योजना बनाएको रोयटर्सले लेखेको छ ।
बैंक अफ कम्युनिकेसन्सले पनि १२० अर्ब युआनसम्मको सेयर बेच्ने बताएको छ । यस्तै, पोस्टल सेभिङ्स बैंक अफ चाइनाले पनि १३० अर्ब युआनसम्मको बिक्री गर्नेछ ।
यी ४ वटै बैंकहरुको प्रमुख सेयरधनी रहेको चीनको अर्थ मन्त्रालय ४ वटै बैंकहरुको पुँजी वृद्धिमा संलग्न हुनेछ । सेयर जारी गरेपछि अर्थ मन्त्रालय बैंक अफ कम्युनिकेसनको नियन्त्रक सेयरधनी बन्ने तयारीमा रहेको छ ।
सुस्त अर्थतन्त्र र संघर्षरत प्रपर्टी क्षेत्रले आफ्नो आम्दानीमा भार पारेको कारण चीनका प्रमुख बैंकहरुले वार्षिक नाफा स्थिर र कम मार्जिन रिपोर्ट गरेका छन् ।
विश्लेषकहरुले चिनियाँ अधिकारीहरूलाई देशका ठूला बैंकहरुलाई द्रुतरुपमा पुँजीकृत गर्न आग्रह गरेका छन् ।
ठूला बैंकहरुको कर्जा प्रवाह विस्तार गरी वृद्धिलाई पुनर्जीवित गर्न र सम्पतिको गुणस्तरमा देखिएको तनाव व्यवस्थापन गर्न पनि पुँजी वृद्धि आवश्यकता देखिएको छ ।