सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट प्रणाली प्रयोगमा ल्याए
काठमाडौं । ग्राहक सेवालाई अझै सहज र प्रभावकारी बनाउनका लागी सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट प्रणाली प्रयोगमा ल्याएको छ ।
बबरमहलस्थित कार्की ब्यान्क्वेटमा आयोजित सिटिजन्स लिडर मिट कार्यक्रमको अवसरमा उपस्थित बीमितले बीमाशुल्कको प्रत्यक्ष भुक्तानी गरी यस सेवाको उद्घाटन गरेका हुन् ।
डायनामिक क्युआर भुक्तानी प्रणालीले ग्राहकले भुक्तानी गर्नुपर्ने हरेक सेवाको लागि बेग्लाबेग्लै क्युआर सिर्जना गर्नेछ र सोही क्युआरलाई बीमितले आफ्नो मोबाइल एप्समार्फत स्क्यान गरेर प्रथम बीमाशुल्क नविकरण बीमाशुल्क बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानी गर्न सक्नेछन् ।
यसरी भुक्तानी गरिएको रकम तत्कालै बीमितको सम्बन्धित बीमालेख खातामा अध्यावधिक हुनेछ । यस प्रकारको भुक्तानी प्रणालीले भुक्तानी दिने व्यक्तिको स्पष्ट पहिचान गर्ने भएकाले सम्पत्ती शुद्धिकरण नियन्त्रणमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
यो सेवा संचालनमा आएसँगै सिटिजन लाइफ इन्स्योरेन्सको देशै भरिका १४० शाखा तथा उपशाखा कार्यालयबाट बीमित तथा अभिकर्ताले डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।
सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत यो प्रविधि प्रयोगमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए ।
कार्यक्रममा देशभरबाट ३५० भन्दा बढी अभिकर्ता र कर्मचारीको उपस्थिती रहेको थियो ।























