आइएमई जनरल इन्स्योरेन्सको माघ ९ गते वार्षिक साधारण सभा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव सहित माघ ९ गते सोमबार वार्षिक साधारण सभा बोलाएको छ ।आइएमई जनरल इन्स्योरेन्सको गत पुस १७ गते बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद गरी जम्मा ६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसअघि कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरे पनि साधारण सभामा भने संशोधित प्रस्ताव पेश गर्न लागिएको हो ।
साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । प्रबन्धपत्र तथा नियमावलि संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, पुस २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
४ माघ २०७९, बुधवार ०७:५२ बजे प्रकाशित