सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सोमवार कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न गरेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको सभाको सभापतित्व रहेको थियो भने कम्पनीका सञ्चालक, सेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।
साधारणसभाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिन सम्बन्धी प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” कायम गर्ने, कम्पनीको चल तथा अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन र अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः०.८२४५ (सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको १ (एक) कित्ता सेयर बराबर १ (एक) कित्ता र ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडको हालको १ (एक) कित्ता सेयर बराबर ०.८२४५ कित्ता) कायम गर्ने गरी गाभ्ने तथा गाभिने कार्यलाई अन्तिम स्विकृति प्रदान गर्ने बताइएको छ ।
दुबै कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौतालगायत अन्य सम्पूर्ण काम कारवाहिहरुको अनुमोदन गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने, एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनको लागि भएको सम्झौता बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको रजिष्ट्रर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३०, ज्ञानेश्वर, काठमाडौंमा राख्ने प्रस्तावका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने संशोधनहरुमा सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव तथा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन तथा फेरबदल गर्ने तथा दुबै कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी गर्नु गराउनु पर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय भएको ब्यहोरा कम्पनीले जनाएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७७र७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४ सय ९९ दशमलव ९२ को कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदनसमेत गरेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले पानसमा बत्ति बाली सभाको औपचारिक शुभारम्भ गरी आफ्नो मन्तब्यसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले सेयरधनीलगायत उपस्थित सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए ।


























