नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्काशनका लागि सानिमा लाइफ इन्स्योरेन्सको निवेदन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।
प्राथमिक शेयर निष्काशनका लागि इन्स्योरेन्सले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।
इन्स्योरेन्सले २०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ ।
नियम अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा गर्नु पर्छ । यहि जेठ २३ गते कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षण सहित वार्षिक साधारणसभा हुँदैछ । उक्त साधारणसभा सम्पन्न हुने वित्तीकै इन्स्योरेन्सलाई प्राथमिक शेयर निष्काशनका लागि पुर्ण रुपमा बाटो खुला हुनेछ ।
कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिए पछि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न सक्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।























