पूर्व सचिव डा. गणेश प्रसाद पाण्डेय बीमा प्राधिकरणको सञ्चालक पदमा नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेयलाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषदको शुक्रबारको बैठकले पाण्डेयलाई सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको प्राधिकरणका अध्यक्ष जनक शर्माले जानकारी दिए।
पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त सचिव हुन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको हैसियतमा बीमा प्राधिकरणको सञ्चालक रही सकेका छन् । बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ।
प्राधिकरणको पाँच सदस्यीय सञ्चालक समितिमध्ये पछिल्लो समयमा जम्मा ३ सदस्य रहेकोमा गत महिना सन्तोष रिजालको कार्यकाल गत मंसिर १६ गते पुरा भएपछि जम्मा २ सदस्यमा सीमित हुन पुगेको थियो।
दुई जना मात्र सदस्य रहेकाले गत मंसिर १७ गतेयता प्राधिकरणको सञ्चालक समिति बैठक बस्न सकेको थिएन।





























