आजदेखि सिटिजन लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
काठमाडौं । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ जीवन बीमा सेवा सञ्चालन गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि आफ्नो नवौं वर्षमा प्रवेश गरेको छ।
सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता र सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्य सहित स्थापित कम्पनीले आफ्नो आठ वर्षको सफल यात्रापछि नवौं वर्षको शुरुवात नयाँ ऊर्जाका साथ गरेको हो।
वि.सं. २०७४ साल भाद्र ७ गते जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरेको सिटिजन लाइफ इन्स्योरेन्सले सोही वर्ष कार्तिक २ गतेदेखि व्यवसायिक कारोबार शुरु गरेको थियो। सात वर्षको अवधिमा इन्स्योरेन्स कम्पनीले उल्लेखनीय प्रगति गर्दै देशभर झण्डै डेढ सय शाखा तथा उपशाखा कार्यालय मार्फत लाखौं ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
इन्स्योरेन्स कम्पनीले प्रविधिमैत्री प्रणालीमार्फत सेवा विस्तार गर्दै जीवन बीमा क्षेत्रलाई आधुनिक, दिगो र सबैका पहुँचमा पु–याउने अभियानलाई निरन्तरता दिंदै आएको छ।
नवौं वर्ष प्रवेशको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सले विशेष कार्यक्रमहरू गर्ने जनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले विगतका वर्षहरूझैं यसपटक पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा जनसेवामूलक र सामाजिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ।
देशका विभिन्न सहरहरूमा सडक र्याली, घरदैलो कार्यक्रम, विद्यालय तथा समुदायस्तरका बीमा कक्षा सञ्चालन गरी नागरिकहरूमा जीवन बीमाको महत्वबारे जनचेतना फैलाउँदै आएको यस कम्पनीले रक्तदान गरी मानव सेवामा पनि ठूलो योगदान पुर्याएको छ। त्यसैगरी कम्पनीका शाखाहरूले स्थानीय निकाय र अन्य संस्थासँग सहकार्य गरेर ‘जीवन बीमा साक्षरता अभियान’ सञ्चालन गर्दै आइरहेका छन्।
वार्षिकोत्सवलाई विविधतामा एकताको प्रतीक बनाउने उद्देश्यले ‘विविधता र समावेशीकरण’ शीर्षकमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइरहेको यस कम्पनीले कर्मचारीबीच आत्मीयता, परस्पर सम्मान र सांस्कृतिक ज्ञान सुदृढ पार्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ।
कम्पनीले प्राकृतिक प्रकोप जस्तैः बाढी, पहिरो आदिबाट प्रभावित परिवारलाई राहत वितरण, न्यानो कपडा र खाद्यान्न सहयोग आदि गर्दै आएको छ।
प्राकृतिक विपद् र ग्लोबल वार्मिङविरुद्धको अभियानका रूपमा ‘गो ग्रीन – हरियाली हाम्रो जिम्मेवारी’ नारासहित वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको यस कम्पनीले वातावरणीय सुरक्षालाई सधैं प्राथमिकता दिंदै आएको छ।
कम्पनीले यसपटक पनि देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ। डेङ्गु, भाइरल रोग र रक्तअभावको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै आयोजित रक्तदान कार्यक्रमले सामुदायिक सहकार्य र मानवताका मूल्यलाई बलियो बनाउने कम्पनीको विश्वास छ।
सिटिजन लाइफ इन्स्योरेन्सको व्यवस्थापकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दिप बहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत एवं अनुपालन तथा जोखिम व्यवस्थापन गोपाल पंगेनी रहेका छन्।
त्यस्तै कम्पनीको सञ्चालक समितिमा प्रदीप जंग पाण्डे अध्यक्ष रहेका छन् भने सुमित कुमार अग्रवाल, मनोज कार्की, महेश स्वाँर सञ्चालक रहेका छन्। त्यसैगरी साधारण शेयरधनी समूहबाट दाबा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना सञ्चालक छन् भने स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी रहेका छन्।
यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ५ अर्ब रुपैयाँको चुक्ता पूँजी र १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँको जीवन बीमाकोष खडा गर्न सफल भएको छ। त्यसैगरी गत आवको असार मसान्तसम्म यस कम्पनीले ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाउन सफल रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय, सञ्चालक समिति, व्यवसायिक साझेदार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै आगामी वर्षहरूमा पनि सेवा गुणस्तर, वित्तीय अनुशासन र सामाजिक दायित्वमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
यस अवसरमा कम्पनीले दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वका सन्दर्भमा सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, समृद्धि र शान्तिको कामना गर्दै आफ्नो नवौं वर्षलाई विश्वासको नयाँ दशकको शुरुवातका रूपमा स्वागत गरेको जनाएको छ।

























