नेसनल लाइफ इन्स्योरेन्सको ३६ औँ वार्षिक साधारणसभा सम्पन्न
१४% लाभांश अनुमोदन
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० लाभांश अनुमोदन भएको छ।
कम्पनीको काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको हो।
जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। सभाले नगद लाभांश र बोनस शेयर बापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ।
साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि साधारण सभाले स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २४ गते १ दिन बुक क्लोज गरेको थियो। यसको मतलब साउन २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउनेछन्।