नेपाल इन्स्योरेन्सको ७५औँ वार्षिक साधारण सभा पुस १३ गते
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७५औँ वार्षिक साधारणसभा भोलि पुस १३ गते आयोजना गर्दैछ । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.९७ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छन्।
सभाले कम्पनीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई ४ वर्षका लागि अर्थात २०८३ चैत ८ गतेसम्मका लागि नियुक्त गर्ने निर्णय सभाले अनुमोदन गर्नेछ।
बोनस शेयर वितरणपछि चुक्तापुँजी पनि बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २८ गते बुक क्लोज गरेको थियो । यसको आधारमा मंसिर २७ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।























