नेपाल टेलिकमको नाफा ७.८६ प्रतिशतले ले खुम्चियो
रिजर्भ कोषमा ७५ अर्ब ८२ करोड
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा ७.८६% ले थोरै हो । अघिल्लो वर्ष यसले ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
टेलिकमको सेवा व्यापार र अन्य श्रोतबाट हुने आम्दानी घटेपछि नाफामा गिरावट आएको हो । अघिल्लो वर्ष टेलिकमले सेवा व्यापारबाट ३७ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेकोमा यसपटक घटेर ३६ अर्ब ८० करोड रुपैयाँमा झरेको छ ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ५४ करोड ७४ लाख रुपैयाँबाट घटेर २९ करोड ९२ लाख रुपैयाँमा झरेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ४७ रुपैयाँ ०६ पैसाबाट घटेर ४३ रुपैयाँ ३६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ २७ पैसा छ ।























