नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्षको भन्दा ७.६३ प्रतिशत ले थोरै हो ।
गत वर्ष यसले ५ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको थियो । यता, टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी भने बढाउन सफल भएको छ । गत वर्ष टेलिकमले सेवा व्यापारबाट २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक बढाएर २८ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ४ अर्ब २२ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।
हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिएपछि यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको हो । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ५२ रुपैयाँ ३१ पैसाबाट घटेर ४० रुपैयाँ २६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५११ रुपैयाँ ७७ पैसा छ ।
२८ वैशाख २०७९, बुधवार १०:३३ बजे प्रकाशित