गुगलले ‘Pixel XE’ मा काम गर्दै, मिडरेञ्ज सेगमेन्टमा सार्वजनिक हुने विश्वास
काठमाडौं । गुगलले पछिल्लो समय ‘पिक्सेल फोर ए’ (Pixel 4a) लञ्च गरेर फ्ल्यागशीपलाई स्किप गरिसकेको छ । तर, पनि पिक्सलका युजरहरु फ्ल्यागशीपको पर्खाईमै रहेका छन् । यसैबीच गुगलले ‘पिक्सल एक्स–ई’ (Pixel XE) मा काम गरिरहेको समाचार बाहिरिएको छ ।
यसै क्रममा केही लाइभ तस्वीरहरु पनि लिक भइसकेका छन् । उक्त स्मार्टफोनको केही स्क्रिनसटहरू टोम्स हार्डवेयर वेबसाइटमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक स्क्रिनसटमा फोनको सफ्टवेयरको विवरण उल्लेख गरिएको छ, जहाँ डिवाइसको नाम पिक्सेल एक्स–ई (Pixel XE) लेखिएको छ । जहाँ डुअल सिम सपोर्ट पनि देख्न सकिन्छ ।
त्यस्तै, यस स्मार्टफोनको अन्य जानकारी पनि सार्वजनिक भएको छ । उक्त फोनको बीचमा बेजल्स रहेको छ, भने बीचमा पञ्चहोल छ, जहाँ सिंगल सेल्फी क्यामेरा दिइएको छ ।
यस स्मार्टफोनमा पनि पिक्सल फोर–ए जस्तै रियर क्यामेरा दिइनेछ । डिजाइनमा के–कति परिवर्तन भयो भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । तर, आउने साताहरूमा यस स्मार्टफोनसँग सम्बन्धित थप जानकारी सार्वजनिक हुने बताइएको छ । यस स्मार्टफोन मिडरेञ्ज सेगमेन्टमा सार्वजनिक हुने आशा गरिएको छ ।

























