अनलाइनबाट सेयर कारोबार गर्नेहरु बढ्न थाले
आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं ।अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेहरु क्रमशः बढ्न थालेका छन् । नेप्सेका अनुसार पछिल्लो ७ कारोबार दिनको तथ्यांकलाई हेर्दा अनलाइन प्रणालीबाट ३३५ कारोबार हुन थालेको छ । अर्थात् यो कुल कारोबारको एक तिहाई हो । पुँजी बजारमा चमक आउन थालेसँगै अनलाइन प्रयोगकर्ता पनि वृद्धि हुन थालेका हुन् । यसले बजार तथा लगानीकर्ता पनि क्रमशः प्रविधिमैत्री बन्दै गएको देखाउँछ ।
नेप्सेको पछिल्लो तथ्यांक अनुसार २० हजार जनाभन्दा बढीले अनलाइन प्रणाली प्रयोग गरेको देखिन्छ । लगानीकर्ता संख्यालाई आधार मान्दा यो कम भए पन कारोबार रकम भने उल्लेख्य हो । यता, माघ अन्तिम दिनसम्मको तथ्यांक हेर्दा दैनिक औसतमा १ अर्ब ४२ करोड रुपैयाँ रुपैयाँको सेयर कारोबार हुन थालेको छ । यसलाई निकै सकारात्मक रुपमा लिइएको छ । गत वर्ष दैनिक औसत कारोबार ३० करोड रुपैयाँ थियो ।
यो तथ्यांकले दैनिक कारोबारमा आमूल सुधार आएको देखाउँछ । पछिल्ला दिनहरुमा कारोबार रकममा उच्च वृद्धि हुँदै आएको छ । यसैबीच, बिहीबार फागुन ८ गते नेप्सेको इतिहासमा नै सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यसदिन २३ हजार ९ सय पटकको कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो । कुल ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए ।
अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा सञ्चालनमा आएसँगै कारोबार रकम बढ्दै गएको दाबी नेप्सेले गरेको छ । नेप्सेको अनलाइन प्रणाली गत वर्ष कात्तिक २० गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । नेप्सेको कारोबार प्रणालीमा सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेसनल क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यसबाट सेयर कारोबार रकम तथा धितोपत्र भुक्तानी एवं रफसाफ हुने भएकाले लगानीकर्तालाई कारोबार गर्न सहज भएको नेप्सेको भनाइ छ ।