नेपालका सूचना प्रविधि आईटी कम्पनीले अब विदेशमा शाखा कार्यालय खोल्न पाउने

काठमाडौं । नेपालका सूचना प्रविधि (आईटी) कम्पनीले अब विदेशमा शाखा कार्यालय खोल्न पाउने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको हो ।
अध्यादेशमार्फत विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ लाई संशोधन गर्दै ऐनमा नेपालमा स्थापित भएको सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको छ ।
सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम नेपालमा भित्र्याउने प्रयोजनका लागि विदेशमा शाखा कार्यालय वा एकाइ खोली व्यापारिक कारोबार गर्न आवश्यक भई सम्बन्धित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले सो कुराको पुष्ट्याइँ गर्ने कागजात सहित निवेदन दिएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो शाखा कार्यालय वा एकाइ खोल्नका लागि अनुमति दिने व्यवस्था गरिएको छ ।
शाखा कार्यालय वा एकाइ स्थापना र सञ्चालन गर्न आवश्यक विदेशी मुद्रा सटही गर्न एकपटकका लागि सुविधा प्रदान गर्न सक्ने छ ।
यसअघि आईटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था रहेको थिएन । लामो समयदेखि नेपालका आईटी व्यवसायीले विदेशमा शाखा कार्यालय खोल्न पाउनु पर्ने माग राख्दै आएका थिए ।