फेसबुकको फोटो र भिडियो अब गुगलमा स्टोर गरेर राख्न सकिने
आर्थिक सञ्जाल
वासिङटन डिसी । विश्वभर अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ ।
गत अप्रिलदेखि अमेरिका र क्यानडामा सुरु गरिएको नयाँ सुविधा फेसबुकले अब विश्वभर नै नयाँ सुविधा खुला गरिएको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।
नयाँ सुविधा अनुसार अब फेसबुकमा राखिएको फोटो तथा भिडियो गुगल फोटोमा सारेर संग्रह गर्न सकिने छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले बताएको छ ।
गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानुपर्नेछ । त्यसका लागि सेटिङमा जानुपर्छ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।
त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ । फोटो सार्ने सेवा सुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ ।
आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’ लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् । रासस–एएनआई


























