आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा:
व्यक्तिगतको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन माग
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पूर्वको छलफल गर्दै सरकारसँग आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योगी व्यवसायीहरुले माग गरेका हुन् ।
उक्त छलफलमा बोल्दै महासंघका कर तथा राजश्व समितीका सभापति सन्दिप अग्रवालले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिगतको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन माग गरे।
अग्रवालले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र पासपोर्ट बनाउदा लाग्ने खर्च घटाउनु पर्ने पनि बताए । सभापति अग्रवालले विदेशीबाट आउने रेमिट्यान्स ३० प्रतिशतसम्म बाहिरी च्यानलबाट आउने गरेकाले रेमिट्यान्सलाई सरकारले औपचारिक रुपमा बैंकिङ प्रणालीमा ल्याउने व्यवस्था गर्नुपर्ने माग गरे ।
मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेकाले विदेशी जाने युवालाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले नेपाली नागरिकको २० देखि ५० वर्ष पुरानो सम्पत्ति अवैध भए पनि एक पटक अभिलेखिकरण गर्न पाउने व्यवस्था आगामी बजेटमा गर्न माग गरे ।
सभापति अग्रवाले सरकारले आयकरमा स्वास्थ्य बीमा,जीवन बीमा गर्दा १ लाखसम्म आयकर छुटमा समावेश गर्न पाउने बजेटमा व्यवस्था गर्न माग गरे ।
त्यस्तै, महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यो वर्षको बजेटमा सरकारले नीजि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्ने बताए ।
उपाध्यक्ष श्रेष्ठले यो वर्षको बजेटमा नीजि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गरे सामाजिक न्यायसहितको खुल्ला अर्थतन्त्र बलियो हुने बताए । उनले बाह्य क्षेत्र व्यवस्थापन गर्ने कार्ययोजना, निर्यात प्रवद्धधन, विशेष कार्यक्रम मार्फत पर्यटन सुधार कार्ययोजना ल्याएर आयात प्रतिस्थापन गर्ने बजेट ल्याउनु पर्ने सुझाव दिए ।
उपाध्यक्ष श्रेष्ठले सरकारले अहिलेको विदेशी मुद्रा सञ्चितिमा देखिएको चाप कम गर्न पर्यटनसँग प्रतिस्पर्धा गर्ने स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई विदेशी मुद्रा आर्जनको स्रोतको रुपमा लिनुपर्ने बताए । अहिले बजारमा देखिएको तरलता महानगर तथा नगरपालिकाहरुले बैंकमा राख्ने तीन महिने निक्षेपको कारण पैदा भएको बताए।
उनले आर्थिक स्थायीत्व र तीव्र आर्थिक वृद्धि हुन नसक्नुमा न्यून स्वदेशी र विदेशी लगानी भएकाले आगामी बजेटमार्फत स्वदेशी र विदेशी लगानी बढाउने निती ल्याउनुपर्ने बताए ।
घरजग्गा धितो राखेर नभइ परियोजना धितो राखेर कर्जा दिनेबारे अध्ययन गरेर राष्ट्र बैंकलाई महासंघले प्रतिवेदन बुझाएकोले यसलाई बजेट मार्फत कार्यान्वयन गर्नु सुझाव दिए ।
उपाध्यक्ष श्रेष्ठले पुँजी निर्माणमा ७७ प्रतिशत हिसा नीजि क्षेत्रको रहेकाले आगामी बजेट नीजि क्षेत्र मैत्री हुनुपर्ने माग गरे।