अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुने

काठमाडौं । चितवनमा आगामी पुस २, ३ र ४ गते अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ। नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवं मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीनदिने प्रदर्शनी हुन लागेको हो।
प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको समेत सहभागिता रहनेछ। यसअघि दुई–दुई वर्षमा आयोजना हुँदै आएको प्रदर्शनी यस पटकदेखि वार्षिकरूपमा आयोजना गरिने भएको परिसंघले जनाएको छ।
नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सय भन्दा बढी स्टल रहने छन्।
जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरिने बताइएको छ।
प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरुलाई प्रवर्द्वन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान समेत गरिने भएको छ। यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरुको समेत प्रदर्शनी हुने बताइएको छ।
पत्रकार सम्मेलनमा परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक प्रवर्द्धन, नवीन प्रविधि हस्तान्तरण र पर्यटन प्रवर्द्वनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने बताएका छन। ‘कोभिड १९ का कारण औद्योगिक गतिविधि सुस्त भएको सन्दर्भमा बजारलाई चलायमान बनाउन यस प्रदर्शनी महत्वपूर्ण सावित हुनेछ’, उनले बताए ।
यसैगरी लघु, घरेलु तथा सना उद्योग प्रवर्द्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले उद्यमशीलता प्रवर्द्वनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए।
यसैगरी राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्तक एवं अध्यक्ष महावीर पुनले उद्यमशीलता र नवीन सोच प्रवर्तनका लागि आविष्कार केन्द्रले काम गरिरहेको उल्लेख गरे।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र उद्योगीहरुको जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको बताएका छन। ‘प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने स–साना औजार, मेशिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणको प्रदर्शनी हुनेछ’, उनले बताए।
प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरु व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालक, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमी तथा उद्यमीका व्यावसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, निर्माणजन्य सामग्री उत्पादकहरु तथा निर्माण व्यवसायीहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु आदि अवलोकनकर्ताको रूपमा रहनेछन्।
उक्त प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रूपमा रहनेछ। उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा रहने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरुबीच प्रत्यक्ष भेटघाट र छलफल हुन गई ब्राण्ड विस्तार तथा अनुभव आदान प्रदानसहित औद्योगिक ज्ञान अभिवृद्धिको महत्वपूर्ण अवसर हुनेछ। यसले स्वदेशी औद्योगिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत योगदान पुर्याउने आयोजकको विश्वास रहेको बताइएको छ।
औद्योगिक प्रवर्द्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकरणका लागि विश्वमा सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरुसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीहरुको विशेष उपस्थितिमा गोष्ठी तथा सेमिनार आयोजना गरिने जनाइएको छ।
प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ।
यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, शिक्षा विकास तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राष्ट्रिय आविस्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीय तहहरु लगायत विभिन्न संघ संस्थाहरुको सहयोगी भूमिका रहेको जनाएको छ।