नेपाल ल्यूब आयलको साढे ४ करोड रुपैयाँ नाफामा
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत वर्ष साढे ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ मा नाफा ९७२ प्रतिशत बढेर ४ करोड ४८ लाख ८८ हजार रुपैयाँ गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४१ लाख ४९ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत असारसम्म कम्पनीले ३५ करोड ३८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष कम्पनीले २४ करोड ११ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
अघिल्लो वर्ष ९२ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ गरेको छ । कम्पनीको आम्दानी बढेका कारण नाफा लगायतका सूचक पनि बढ्न पुगेका हुन् ।
कम्पनीले गत वर्ष ८ करोड ९९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
६ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ९ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग २४ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ११.१९ रुपैयाँबाट बढेर ७३.२७ रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा संस्थाको मूनाफा, उत्पादन तथा बिक्री बितरण र तरलता सन्तोषजनक रहेको कम्पनीले जनाएको छ । उत्पादन र बिक्री बितरणको लक्ष्य हासिल गर्न हाल विश्व आर्थिक मन्दि क्रमशः कम हुँदै गइरहेको र कच्चा पदार्थको मूल्यमा सुधार भएकाले कारोबार पनि बढेको कम्पनीले बताएको ।
कम्पनीले उद्योगको पुर्ण क्षमता अनुसारको उत्पादन र बिक्री बितरण गरी उच्चस्तरिय लूब्रिकेण्ट आम उपभोक्ताहरुका बिचमा पूर्याउने र सेयरधनीहरुलाई उचित प्रतिफल दिने कम्पनीको भनाइ छ ।