sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५औं वर्षमा प्रवेश

औद्योगिक पूर्वाधार र समृद्धिको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पूरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ ।

महासंघ ३५औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए ।

लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्नका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले लघु, घरेलु तथा साना उद्योग नीति, स्वदेशी उत्पादन निर्देशिका पनि परिमार्जन गरेर ल्याउने तयारीमा रहेको बताए ।

लघु, घरेलु तथा साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उनले जुनसुकै उद्योगहरूलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको पनि स्पष्ट गरेका छन् ।

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले ३५ वर्षमा महासंघ सात वटै प्रदेश, सबै जिल्ला, ३४१ वटा पालिकाहरूमा क्रियाशील रहेको भन्दै ३५ हजार भन्दा बढी उद्योगहरू महासंघका सदस्य रहेको बताए । उद्यमीहरूका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको उनले बताए ।

सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीति मार्फत यसको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुहरूको बजार प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको निर्यात गृह स्थापनाका लागि महासंघले दिएको सुझावलाई बजेटमा नसमेटिएकोले यसलाई सुधार गरिनुपर्ने उअध्यक्ष सिंहले बताए ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले घरेलु तथा साना उद्योगीहरूको छाता संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै महासंघको स्थापना भएको स्मरण गराउँदै यस्ता उद्योगहरूलाई अर्थतन्त्रको इञ्जिन भनेर भने पनि व्यवहारमा देख्न नसकिएको बताएका छन् ।

कार्यक्रममा महासंघका सल्लाहकार अञ्जना श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरू शेभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघका सचिवहरू महेन्द्र चित्रकार र रुद्र न्यौपाने, केन्द्रिय महिला उद्यमी समिति वागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रिय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो, सचिव दीपा शाक्य, महासंघ काठमाडौं जिल्ला अध्यक्ष सीता कार्कीलगायतको उपस्थिति रहेको थियो ।

स्थापना दिवसकै अवसर पारेर महासंघ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासंघका संगठनहरूले विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।

gold
prabhu bank
nawakantipur long