परिसंघ, सरकार र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने
काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच उद्योग मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रा.लि., अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि., बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डष्ट्रिज प्रा.लि., र रन शुज इन्डष्ट्रिज प्रालि रहेका छन् ।
सम्झौताअनुसार यी उद्योगहरुले कुल १ हजार ६ सय ६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिएर सोपश्चात् कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन् ।
प्रशिक्षार्थी कामदारहरुको अधिकतम ३ महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्ने छ । उद्योगमन्त्री रमेश रिजालले यस कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा व्यक्त गरे । साथै, कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध सबै पक्षलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिए ।
परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले चालु आर्थिक वर्षका लागि ९ वटा उद्योगहरुले २१ सय प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएको र पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ वटा उद्योगहरुसँग मात्र यस कार्यक्रमका त्रिपक्षीय सम्झौता हुन सकेको जानकारी दिए ।
‘अन्य उद्योगहरु इच्छुक हुँदाहुँदै पनि यसमा सहभागि हुन नसक्दा १ हजार ६ सय ६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएकाले आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।
यसलाई सफल बनाउनका लागि परिसंघको भूमिका सदैव सकारत्मक रहने छ’, उनले भने । यस्तै, परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरुलाई समेट्नुपर्ने बताए ।
‘सीटीईभीटीबाट मान्यता प्राप्त पाठ्यक्रम भएमा यस कार्यक्रमले अझ ठूलो उपलब्धि हासिल गर्नेछ,’ उनले भने । कार्यक्रममा उद्योगमन्त्री रिजाल, उद्योग सचिव मुकुन्द प्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालसँगै विभिन्न उद्योगी र नेपाल सरकारका उच्च अधिकृत लगायतको उपस्थिति रहेको थियो ।