citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्क अनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटे

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको सकारात्मक असर देखिन थालेको छ । आयात प्रतिबन्धको यो नीतिले निरन्तर बढिरहेको आयात वृद्धिदरमा ‘ब्रेक’ लागेको छ ।

भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्क अनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटेको छ । वैशाखमा एक खर्ब ३७ अर्ब ९९ करोड रुपियाँको वस्तु आयात भएको छ ।

 

 

त्यसअघि चैतमा एक खर्ब ५७ अर्ब ९२ करोड रुपियाँको वस्तु आयात भएको थियो । चैतको तुलनामा वैशाखमा करिब २० अर्ब रुपियाँ बराबरको आयात कम देखिएको हो । गत फागुनको तुलनामा चैतमा तीन अर्ब ३४ करोड रुपियाँले आयात घटेको थियो ।

भुक्तानी सन्तुलनमा दबाब परेपछि सरकारले पुसदेखि नै आयातमा कडाइको नीति लिँदै आएको छ । पुसको पहिलो हप्ता ४७ वस्तुको आयातमा ५० र शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।

त्यस्तै वैशाख दोस्रो हप्ता सरकारले राजपत्रमा सूची प्रकाशित गर्दै विभिन्न दसवटा वस्तुको आयातमा बन्देज लगाएको थियो ।

आगामी असारसम्म लागू हुनेगरी कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा (औद्योगिक कच्चापदार्थ बाहेक), छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्च माथिका रङ्गिन टेलिभिजनको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

त्यस्तै जिप, कार र भ्यान (एम्बुलेन्स र शव वाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास पनि असारसम्म आयात गर्न बन्देज लगाइएको छ ।

अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आइसकेको छ । आयात कडाइका लागि सरकारले अख्तियार गरेका यिनै नीतिको असर वैशाखको आयातमा देखिएको हो ।
आयात १६ खर्ब नाघ्यो

चालू आर्थिक वर्षको पहिलो दस महिना (साउन–वैशाख)सम्म समग्र आयातको आकार भने १६ खर्ब रुपियाँ नाघेको छ ।

विभागका अनुसार वैशाखसम्म नेपालले १६ खर्ब चार अर्ब ६५ करोड रुपियाँको वस्तु आयात गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो ।

यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै सवा दुई खर्ब रुपियाँको आयात भएको छ । यो सोही अवधिमा भएको कुल आयातको करिब १५ प्रतिशत हो ।

सबैभन्दा बढी एक खर्ब २३ अर्ब ७० करोड रुपियाँको डिजेल, ५४ अर्ब ८३ करोड रुपियाँको पेट्रोल र ५२ अर्ब रुपियाँको एलपी ग्यास आयात भएको छ ।

पेट्रोलियम पदार्थ बाहेक सबैभन्दा बढी आयात कच्चा भटमास तेल ४९ अर्ब ४१ करोड र अर्ध प्रशोधित फलाम ४३ अर्ब ५५ करोड रुपियाँ बराबरको छ ।

यस अवधिमा नेपालले सबैभन्दा धेरै भारतबाट नौ खर्ब ९५ अर्ब रुपियाँको वस्तु आयात गरेको छ । यो कुल आयातको करिब ७१ प्रतिशत हो ।

त्यसपछि चीनबाट दुई खर्ब २६ करोड, इन्डोनेसियाबाट ४३ अर्ब ७४ करोड, संयुक्त राज्य अमेरिकाबाट ४२ अर्ब ४७ करोड र संयुक्त अरब इमिरेट्सबाट ४० अर्ब रुपियाँको वस्तु आयात भएको छ ।

निर्यात ६० प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको वैशाखसम्ममा नेपालको कुल निर्यात व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब आठ अर्ब रुपियाँ बराबरको थियो । चालू आर्थिक वर्षको यो दस महिनाको अवधिमा नेपालले सबैभन्दा धेरै ४५ अर्ब ३५ करोड रुपियाँको भटमास तेल निर्यात गरेको छ ।

त्यसपछि ३८ अर्ब रुपियाँको पाम तेल, सात अर्ब ६८ करोडको गलैँचा, चार अर्ब ८६ करोड रुपियाँको जुट तथा ऊनी कपडा निर्यात गरेको छ ।

समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतमा एक खर्ब ३७ अर्ब १७ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।

व्यापार घाटा १४ खर्ब ३१ अर्ब

निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालको व्यापार घाटा वैशाखसम्ममा १४ खर्ब ३१ अर्ब रुपियाँ नाघेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको १० महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा २५ प्रतिशतले बढेको छ ।

अघिल्लो वैशाखमा नेपालको व्यापार ११ खर्ब ४५ अर्ब रुपियाँ थियो । एक वर्षकै अवधिमा व्यापार घाटा करिब तीन खर्ब रुपियाँले बढेको हो ।

himalayan life insurance
igi long