कुल निर्यातभन्दा बढीको पेट्रोलियम आयात
काठमाडौँ । मुलुकबाट भएको निर्यात रकमभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा (साउन–जेठ) मुलुकबाट दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपियाँको वस्तु निर्यात हुँदा भारतबाट दुई खर्ब ९७ अर्ब ७९ करोड ५६ लाख रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
निर्यात रकमभन्दा २० अर्ब बढीको इन्धन आयात हुँदा यसले व्यापार घाटासमेत बढाएको छ । विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपियाँ बराबरको १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात भएको छ ।
गत वर्ष सो अवधिमा एक खर्ब १५ अर्ब ५५ करोड १७ लाख रुपियाँ बराबरको १३ लाख १४ हजार ५५१ किलोलिटर डिजेल आयात भएको थियो । यस वर्ष पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले डिजेलको आयात रकम बढे पनि परिमाण भने ४९ हजार ६७३ किलोलिटर घटेको छ । इन्धनको मूल्य बढ्दा विकासनिर्माण सङ्कुचित हुँदा डिजेलको खपत घटेको हो ।
इन्धन खपत घटाउन सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएकाले पनि डिजेलको खपतमा कमी आएको हो । यस्तै ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख ६८ हजार रुपियाँ बराबरको छ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको छ ।
गत वर्ष सो अवधिमा ५८ अर्ब ५८ करोड ९० लाख ८४ हजार रुपियाँ बराबरको छ लाख ८१ हजार ४८४ किलोलिटर पेट्रोल आयात भएको थियो । यस वर्ष पेट्रोलको आयात भने चार हजार किलोलिटर बढेको तथ्याङ्क छ । यस्तै चालु आवको ११ महिनामा १७ अर्ब ४९ करोड ९८ लाख ९४ हजार रुपियाँ करोडको एक लाख ९४ हजार पाँच सय किलोलिटर हवाई इन्धन आयात भएको छ ।
यस्तै ६५ करोड ५२ लाख ४२ हजार रुपियाँ बरारको छ हजार ७९३ किलोलिटर मटितेल आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ७८ करोड २२ लाख रुपियाँ बराबरको १२ हजार ३० किलोलिटर मटितेल आयात भएको थियो । गत आवको तुलनामा आधारले मटितेल आयात घटेको छ । अन्य पेट्रोलियम पदार्थको तुलनामा मटितेलको खपत न्यून हुँदा आयातसमेत कम हुने गर्छ ।
यस्तै ५२ अर्ब २१ करोड ६६ लाख २२ हजार रुपियाँ बराबरको चार लाख ७५ हजार ९८० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा ५७ अर्ब ३६ करोड ६६ लाख ६८ हजार रुपियाँ बराबरको पाँच लाख छ हजार ६७२ मेट्रिक टन ग्यास आयात भएको छ ।
गत आवको तुलनामा यस वर्ष पाँच अर्ब रुपियाँ बराबरको ३१ हजार मेट्रिक टन ग्यास आयात कम भएको छ । पछिल्लो समय विद्युतीय चुलोको प्रयोग बढ्दै गएकाले पनि ग्यास आयातमा कमी भएको हो ।






















