आयातनिर्यात दुवै बढ्दा व्यापार घाटा पनि उच्च
काठमाडौँ । मुलुकमा आयातनिर्यात दुवै बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९८ करोड ८७ लाख रुपियाँ भएको छ ।
गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपियाँको आयात भएको थियो । यस्तै ११ महिनामा निर्यात १२.२८ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपियाँ पुगेको छ ।
गत वर्ष सो अवधिमा दुई खर्ब ४७ अर्ब ५७ करोड तीन लाख रुपियाँ रहेको थियो । ११ महिनामा व्यापारघाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपियाँ पुगेको छ ।
यस वर्ष कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६६ करोड १३ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रहेको थियो । आयातनिर्यात दुवै बढ्दा वैदेशिक व्यापारमा समेत उच्च वृद्धि भएको हो ।
विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै दुई खर्ब ९७ अर्ब १४ करोड ४४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै एक खर्ब १९ अर्ब ६३ करोड २० लाख रुपियाँ बराबरको भटमासको कच्चा पदार्थ र ५५ अर्ब ९३ करोड ३७ लाख रुपियाँको खाद्यान्न आयात भएको छ । सो अवधिमा मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ ।
११ महिनामा एक खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपियाँ बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले तेस्रो मुलुकबाट कच्चा आयात गरी प्रशोधन गरेर भटमासको निर्यात गर्ने गरेका छन् ।
यस्तै १२ अर्ब एक करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ जुन गत वर्षको वार्षिक निर्यातभन्दा झन्डै दोब्बर धेरै हो । गत वर्ष कुल सात अर्ब ६८ करोड रुपियाँको अलैँची निर्यात भएको थियो ।
यस्तै नौ अर्ब ३८ करोड बराबर कार्पेट निर्यात भएको छ । सात अर्ब ९९ करोडको सूर्यमुखी तेल निर्यात भएको तथ्याङ्क छ । छ अर्ब १४ करोड रुपियाँ बराबरको पाम आयल निर्यात भएको तथ्याङ्क छ ।
११ महिनामा सबैभन्दा धेरै भारतबाट १० खर्ब ९२ अर्ब २२ करोड ४४ लाख रुपियाँको आयात हुँदा त्यहाँ दुई खर्ब २८ अर्ब १३ करोड १८ लाख रुपियाँको निर्यात भएको छ । भारतबाट आयात धेरै भए पनि निर्यात कम हुँदा आठ खर्ब ६३ अर्ब ८९ करोड ५९ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।
यस्तै चीनबाट तीन खर्ब ८२ अर्ब २४ करोड ९६ लाख रुपियाँ आयात हुँदा नेपालबाट १५ खर्ब ९४ करोड ४४ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग आयातको तुलनामा निर्यात न्यून हुँदा तीन खर्ब ८० अर्ब ६५ करोड ५१ लाख रुपियाँ व्यापारघाटा रहेको छ । मुलुकको विभिन्न १५८ मुलुकसँग वैदेशिक व्यापार रहेको छ ।


























