stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीनतर्फको निर्यातमा सुधार, एकै वर्ष चार गुणाले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण घटेको चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो ।

यद्यपि कोरोना सङ्क्रमणको असर कम हुन थालेपछि भन्सार नाकासमेत नियमित सञ्चालनमा आएपछि निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार चालु आर्थिक वर्ष आठ महिनासम्म (साउन–फागुन) मा नेपालले चीनतर्फ एक अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।

यो २०७९ को सोही अवधिसम्मको तुलनामा करिब चार गुणाले बढी हो । गत वर्ष फागुनसम्म नेपालले ५१ करोड रुपियाँको वस्तु चीनमा निर्यात गरेको थियो । एकै वर्षको अन्तरमा चीनतर्फको निर्यातमा उच्चतम सुधार देखिएको विभागकै तथ्याङ्कले पुष्टि गर्छ ।

विभागका अनुसार फागुनसम्म चीनमा सबैभन्दा धेरै ३१ करोड २२ लाख रुपियाँको गलैँचा निर्यात भएको छ । त्यसपछि टेबल तथा भान्साका लागि उपयोगी वस्तुहरू २५ करोड ३७ लाख रुपियाँको निर्यात भएको छ ।

नेपाली यार्सागुम्बाको सबैभन्दा ठुलो बजारसमेत रहेको चीनमा फागुनसम्म २२ करोड ८७ लाख रुपियाँको उक्त जडीबुटी निर्यात भएको छ । मुख्य गरी उत्तरी हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको बजार नेपालसँग सीमा जोडिएका चिनियाँ स्थानीय बजार हुन् ।

यसबाहेक चीनमा पास्ता, फेल्ट, कपडा, काठका सामग्री र वाद्यवादन पनि उल्लेख्य मात्रामा निर्यात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका अनुसार उक्त अवधिमा १४ करोड २८ लाख रुपियाँ बराबरको पास्ता, नौ करोड ३३ लाख रुपियाँ बराबरको फेल्ट, छ करोड ४३ लाख रुपियाँ बरबरको कपडा, छ करोड १९ लाख रुपियाँको काठका सामग्री र पाँच करोड १२ लाख रुपियाँको वाद्यवादन निर्यात भएको छ ।

व्यापार घाटाको फराकिलो खाडल

अन्तर्राष्ट्रिय व्यापारमा भारतपछिको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको चीनमा निर्यात सुधार देखिए पनि आयातको तुलनामा त्यो अत्यन्त न्यून देखिन्छ ।

फागुनसम्म नेपालले चीनबाट एक खर्ब ९४ अर्ब ८७ करोड रुपियाँको वस्तु आयात गरेको छ । यस हिसाबले व्यापार घाटा मात्रै एक खर्ब ९३ अर्ब रुपियाँ छ ।

आयात र निर्यातको अनुपातमा चीनसँगको व्यापार घाटा नेपालका अन्य अन्तर्राष्ट्रिय व्यापार साझेदारको तुलनामा भने सबैभन्दा उच्च हो ।

आयातमा दोस्रो ठुलो व्यापारिक साझेदार मुलुक भए पनि निर्यातमा भने चीन उक्त अवस्थामा छैन । फागुनसम्म कुल एक खर्ब रुपियाँको वस्तु निर्यात गरेको नेपालका लागि चीन ठुलो निर्यात बजार भने बन्न सकेको छैन ।

निर्यातको हिसाबले भारतबाहेक चीनभन्दा संयुक्त राज्य अमेरिका, जर्मनी र बेलायत ठुला साझेदार बनेका छन् ।

चीन निर्यात बजारको हिसाबले नेपालको पाँचौँ ठुलो व्यापारिक साझेदार रहेको छ जुन अघिल्ला वर्षमा प्रमुख पाँच निर्यात गन्तव्यको रूपमा भने थिएन । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari