सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ ।
यो आइपीओमा यसअघि नै मागभन्दा बढी आवेदन परिसकेको छ । गत शुक्रबारसम्ममा यसमा १ अर्ब ८ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार शुक्रबार चैत १० गते दिउँसो सम्ममा ९ लाख ६३ हजार ५१८ जना सर्वसाधारण आवेदकले १ करोड ८ लाख ८१ हजार २१० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३ गुणा बढी हो ।
यस कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ ।
यसमध्ये १० प्रतिशत (४ लाख ३६ हजार ८ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीले ५५ अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत (१ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बुधबार चैत ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । इक्रा नेपालले २०७९ असार १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० जेठ ३० गतेसम्म बाहल रहनेछ ।