सानिमा मिडिलको आइपीओमा १ करोड ६२ लाखभन्दा बढी कित्ताका लागि आवेदन पर्यो

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा १ अर्ब ६२ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन फागुन ३० गतेसम्ममा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.८२ गुणा बढी आवेदन हो ।
हाइड्रोपावरले फागुन २६ गतेदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो ।
यसमध्ये १० प्रतिशत (४ लाख ९९ हजार ८७५ कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ ।
बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिने ब्यवस्था थियो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।
यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
३० फागुन २०७९, मंगलवार २१:०८ बजे प्रकाशित