पाँचथर पावर कम्पनीको नाफामा उल्लेख्य सुधार
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । यसअवधिमा कम्पनीले ८ करोड ४० लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो वर्ष यसैअवधिमा पाँचथर पावर १२ करोड ६ लाख ४७ हजार रुपैयाँ नोक्सानमा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो ।
१३२ केभीको काबेली विद्युत प्रसारण लाइन सम्पन्न भई आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत केन्द्रीय प्रसारण लाइनमा प्रवाह गर्न सकिएकाले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको बताएको छ ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १४ करोड ९३ लाख ७७ हजार रुपैयाँले बढेर ३९ करेड ९२ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले २४ करोड ९९ लाख ९ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
जगेडा कोष भने १३ करोड ९७ लाख ३ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ४९ पैसा छ ।





















