प्रधानसेनापतिद्वारा ईटहरीमा नवनिर्मित सैनिक अस्पतालको उदघाटन

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६
काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच सुनसरी जिल्लाको ईटहरीस्थित नवनिर्मित ५० सैय्या क्षमता भएको सैनिक अस्पतालको उदघाटन
गर्नु भएको छ ।
नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले श्री सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो । २०७४ कार्तिक १५ गतेबाट निर्माण शुरु भई २०७५ मंसिर १५ गते निर्माण सम्पन्न भएको उक्त सैनिक अस्पताल २०७६ फाल्गुन १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ.टी. लगायतका सेवाहरु सञ्चालनमा ल्याइएको छ ।