आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण भोलि अपराह्न ४ बजे

आर्थिक सञ्जाल
काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा भोलि बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।
नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसद वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजे अगावै उपस्थित भइसक्न सबै सांसद सदस्यलाई आग्रह गरे ।
आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ । दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नेछन् ।