stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजेट छलफलमा जुट्यो अर्थ मन्त्रालय, १७ खर्बको हाराहारीमा बजेट आउने

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार

काठमाडौं । कोरोना भाइरसका कारण चैत ११ गतेदेखि देश लकडाउनमा गएपछि पछि सरेको आगामी आ.वको बजेट छलफल शुरु भएको छ । राष्ट्रिय योजना आयोगमा बजेटको नीतिगत तथा कार्यक्रममाथि छलफल सकिएपछि अर्थ मन्त्रालयमा स्रोत व्यवस्थापन सहित छलफल शुरु गरिएको हो । राष्ट्रिय योजना आयोगमा गत चैत २५ गतेबाट शुरु भएको बजेट छलफल अस्ति शुक्रबारबाट सकिएको आयोग सदस्य डा.रामकुमार फुयालले जानकारी दिए ।

अन्य आर्थिक वर्षको तुलनामा त्यसैपनि ढिला शुरु गर्न लागिएको बजेट छलफल कोरोना संक्रमणको कारण अझ पछि धकेलिएको थियो  । वैशाख २ गतेबाट अर्थ मन्त्रालय बजेट छलफलमा जुटेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए ।

‘अब साता/१० दिनमा बजेट छलफल सकिन्छ,’उनले भने ‘अहिले विषयगत मन्त्रालय अन्तर्गत बजेट छलफल भइरहेको छ ।’ सानो सानो टिममा जम्मा भएर बजेट छलफल गरिरहेका छौं ।’

अघिल्ला वर्षमा प्रत्येक मन्त्रालयका सचिवदेखि कार्यक्रम अधिकृत समेत टिमनै बसेर बजेट छलफल हुन्थ्यो । एउटै मन्त्रालयको २५/३० जनाको टिम हुने गरेकामा यस वर्ष प्रतिनिधिमूलक हिसावले बजेट छलफल भइरहेको छ ।

‘कोरोना अघि बजेटको एउटा सिलिङ दिएका थियौ,’ उनले भने ‘अहिले दैनिक १ अर्ब जति राजस्व नोक्सान भएको छ ।’ यसले गर्दा समग्र अर्थतन्त्रमा तीन देखि चार अर्ब भ्यालू एड ‘मूल्य अभिवृद्धि’ घटेको छ ।

यो सबै हेर्दा बजेट घट्न पनि सक्छ । तर, पनि गत वर्षको भन्दा केही बढेर भने बजेट आउँछ । यस वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेटको आएको छ ।

आगामी वर्ष अहिलेको भन्दा केही बढेर बजेट आउँछ,’ सदस्य फुयालले भने ‘कोरोना पछि बजेटका प्राथमिकताहरू परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।’ अब सरकारले मानव स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकोे छ ।

स्वास्थ्यका क्षेत्रमा सबै पूर्वाधार तयार गर्ने गरी बजेट ल्याउनु पर्ने भएको छ ।’ यसका साथै शिक्षा र कृषि क्षेत्रलाई आगामी आवको बजेटले विशेष प्राथमिकता राखेको छ । उत्पादनलाई जोड्नका लागि साना तथा मझौला उद्योग पनि सरकारको प्राथमिकतामा परेको छ ।

       

यसका साथै ८० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेका राष्ट्रिय गौरवका आयोजना पनि यस वर्ष प्राथमिकतामा पर्ने भएको छन् । पूर्वाधार निर्माण कार्यलाई सरकारले अगाडि बढाउने छ । माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल, भेरी बबई डाइभर्सन, सिक्टालगायतका आयोजना छिटो सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने सरकारले योजना बनाएको सदस्य फुयालले बताए ।

गेम चेन्जर भनेर ल्याएका १८ वटा आयोजनालाई केही बजेट छुट्याए पनि त्यसमा भने केही बजेट कटौती गर्ने सरकारको तयारी छ । सुनकोशी मरिन डाइर्भसन अघि बढेकोले त्यसमा कुनै असर नपरेपनि डिजिटल नेपाल, औद्योगिक पूर्वाधार निर्माणलगायतका योजनामा भने केही बजेट कटौती हुन सक्छ,’ उनले भने ।

मध्यकालीन खर्च संरचनामा आगामी आवका लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ (सीमा) प्रक्षेपण गरिएको छ । सो बजेट प्रक्षेपणमा चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड, पुँजीगततर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

मध्यमकालीन खर्च संरचनामा उल्लेख गरिएको बजेट स्रोतका लागि सरकारले राजस्वबाट ११ खर्ब ६९ अर्ब ७७ करोड स्रोतको व्यवस्था गर्ने भनिएको छ भने ६३ अर्ब वैदेशिक अनुदान, वैदेशिक ऋण ३ खर्ब ३९ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ८७ स्रोत व्यवस्थापन गर्ने मध्यमकालीन बजेट संरचनामा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari