stcnepal long ad
global ime bank long

कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई एक वर्ष कैद र १० लाख जरिवाना हुनसक्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

 

काठमाडौं । गएको बिहीबार नेपाल वायु सेवा निगमको विमान चार्टर गरी चीनको ग्वान्जाओबाट इन्फारेड थर्मल गन (टाढैबाट ज्वरो नाप्ने) र एन–९५ मास्क नेपाल भित्राएर कालो बजारी गर्ने उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले ग्राहकको भेषमा थर्मल गन र मास्क किन्ने बहाना बनाई स्टिङ्ग अपरेसन गरी उनलाई पक्राउ गरेको हो । बढीमा चार हजार रुपियाँ पर्ने थर्मोमिटर उनले बिनाबिल १६ हजार रुपैयाँमा बेची कालोबजारी गरेको प्रहरीको भनाइ छ । नेपालमा कमै मात्र पाइने सो गन राजधानीको विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ ।

बिहीबारको उडानमा २० हजार थान यस्ता थर्मोमिटर नेपाल भित्रिएका थिए । विशेष गरी सुलभ अग्रवालले करिब दुई करोड रुपियाँमा विमान चार्टर गरी ती सामग्री नेपाल भित्राएका थिए । बजारमा अभाव भएको मौका छोपेर विमान चार्टर गरी नेपाल भित्राउन सफल आग्रवालले भ्याट बिलबिना नै सामग्री सप्लाइ गर्ने गरेका थिए ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले मंगबार दिउँसो नै थर्मल गनको कालोबजारी भइरहेको जानकारी पाएका थिए । केही सबुत प्रमाण खोज्नुपर्ने भएकाले अग्रवालमाथि निगरानी राखेको एक दिनपछि मंगलबार अग्रवाललाई पक्राउ गरिएको हो । नेपालकै ठूला उद्योगी कहलिएका अग्रवाल जगदम्बा स्टिल्सका उपाध्यक्ष समेत रहेका छन् ।

उनले जहाज भाडामा लिई पीपीई सहितको सामग्री ल्याउने बताएका थिए । करिब ३० टन सामान ल्याउने तयारीमा उडेको विमानमा केबल सात टन थर्मल गन, मास्क र केही उद्योगीको सामान ल्याइएको थियो । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी थापाले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको पनि जानकारी दिएका छन् ।

उनले भने– ‘अन्य क–कसलाई बिक्री गरिएको छ भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीमाथि भ्याट छलीको अभियोगमा पनि कारबाही गर्ने तयारी प्रहरीले गरिरहेको छ ।’ स्रोतका अनुसार तीन सय ९५ रुपैयाँ पर्ने मास्कलाई ५ सयमा र थर्मल गनलाई मोलमोलाई गर्दा १५ हजार रुपैयाँमा बिक्री गर्दै आएका थिए ।

महाशाखाले पक्राउ परेका अग्रवाललाई कालो बजारी ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी भएको जनाएको छ । महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो । कूटनीतिक नियोगको सवारी साधन २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा अग्रवाललाई पक्राउ गरिएका प्रहरीले जनाएको छ ।

मेडिकल सामग्री विक्रेता नभए पनि मनग्य नाफा हात पार्नसक्ने भन्दै अन्य मेडिकल सप्लायर्सले बुकिङ गरेको जहाज सुलभको नाममा भाडामा लिइएको थियो । अग्रवाल किर्किस्तानको महावाणिज्यदूतका रूपमा कूटनीतिक नियोगको निलो प्लेटको गाडी प्रयोग गर्दै आएका थिए ।

अग्रवालबाट थर्मल गन बिनाबिल प्रतिगोटा १६ हजार लिएर त्रिपुरेश्वरका तिरूपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए । एन–९५ मास्क अग्रवालले ७ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचना महाशाखाको टोलीले पत्ता लगाएको थियो ।

मुलुकभर कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा देशलाई सहयोग गर्नुपर्ने अग्रवालले करोडौं कमाइ हुने भन्दै चीनबाट कालोबजारी गरेको स्वीकारेको प्रहरीले बताएको छ । एक वर्ष कैद र १० लाख जरिवाना कालो बजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ को खण्ड (क) मा नेपाल सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरि दिएकोमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मालवस्तुको उत्पादक, आयत वा मुख्य वितरकले निर्धारण गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो मालवस्तुको मोल फिर्ता गराई निजलाई एक वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

यसै गरी सोही खण्डमा १० लाख रुपियाँसम्म जरिवाना हुने पनि उल्लेख गरिएको छ । अधिवक्ता कीर्तिनाथ शर्माले सामान लुकाई कालो बजारी गर्नेलाई हदैसम्मको सजायको माग गरी सरकारले मुद्दा दायर गर्नुपर्ने उल्लेख गरे । नेपाल समाचारपत्र दैनिकबाट ।

IME Lifesidebar
kumari