बैंकहरुको निक्षेप बढ्दै, सीडी रेसियो ९० प्रतिशत माथि
बैंक तथा वित्तीय संस्थाहरुको गत मंसिर १५ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको थियो।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार हुने क्रम जारी रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको पाइएको छ।
गत मंसिर १४ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक दिनमा निक्षेप २ अर्ब रुपैयाँले बढेको पाइएको छ। गत मंसिर १४ गते निक्षेप १ अर्ब रुपैयाँले बढेको पाइएको थियो।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको गत मंसिर १५ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको थियो। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्बले बढेको देखिन्छ।
वाणिज्य बैंकहरुको निक्षेप भने यो एक दिनमा १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर गत मंसिर १५ गतेसम्म ४२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो।
यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको पाइएको छ। गत मंसिर मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६५ अर्ब रुपैयाँ रहेकोमा मंसिर १५ गतेसम्म बढेर ४० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार गत मंसिर १५ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.८८ प्रतिशत पुगेको छ। गत मंसिर १४ गतेसम्म औसत सीडी रेसियो ९०.८५ प्रतिशत रहेको थियो। अन्तरबैंक ब्याजदर भने ४.९८ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको पाइएको छ।






















