कुन बैंकले कति लाभांस दिने ?
२६ वटा वाणिज्य बैंकमा कार्तिक ८ गते सोमबारसम्म १२ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन्।

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश घोषणा गरिरहेका छन्।
तिनै सूचीकृतमध्ये २६ वटा वाणिज्य बैंकमा गत कार्तिक ८ गते सोमबारसम्म १२ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्म सिद्धार्थ बैंक , कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरिसकेका छन्। अन्य १६ वटा बाणिज्य बैंकहरूले लाभांश घोषणा गर्न बाँकी रहेको छ । आगामी मंसीर महिना सम्म सबै बैंकहरूले लाभांश घोषणा गरिसक्ने बताएका छन।
लाभांश घोषणा गरेका १२ वटा बाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले घोषणा गरेको छ। यो बैंकले कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २१.३८ बोनस सेयर र ४.६२ नगद लाभांश रहेको छ।
यसैगरी सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमा १७ प्रतिशत बोनस सेयर र बाँकी ०.८९ कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
यसैगरि नेपाल बैंकले पनि १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश घोषणा गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले समान १६ प्रतिशत लाभांश घोषणा गरेका छन्। जसमा नेपाल इन्भेस्टमेन्ट बैंकको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ। यस्तै सिटिजन्स बैंकको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद लाभांश रहेको छ ।
त्यस्तै एनआईसी एसिया बैंक नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंकले पनि १५ देखि १६ प्रतिशत आसपासमा लाभांश घोषणा गरेका छन्। एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
यस्तै नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सिद्धार्थ बैंकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश रहेको छ।
गत वर्षको मुनाफाबाट माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बोनस सेयर १३.३ प्रतिशत र नगद लाभांश ०.७ प्रतिशत रहेको छ । यसैगरि ग्लोबल आईएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १३ प्रतिशत बढी लाभांश घोषणा गरेका छन्। जसमा ग्लोबल आईएमई बैंकको १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश रहेको छ।
हालसम्म घोषित लाभांशमध्ये सबैभन्दा कम कुमारी बैंकको देखिएको छ। यो बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरी कुल ८.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लाभांश घोषणा गरेका मध्ये ४ वटा बैंकले वार्षिक साधारणसभा पनि बोलाइ सकेका छन्। तीमध्ये माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले वार्षिक साधारणसभा बोलाएका छन्।
यसैगरी विकास बैंकतर्फ कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरिसकेका छन्। कामना सेवाले १८.५ प्रतिशत बोनस र ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। सांग्रिला डेभलपमेन्ट बैंकले पनि कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।